अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ बैशाख २०८१, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ,  अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को-अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गर्नुभयो । उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशोधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सम्झौताअनुसार चीनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ ।

त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा उल्लेख छ । कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिनुभयो । नेपाल र चीनबिच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवम् संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रपति सी जिन फिङले पाँच वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पुर्याएको बताउनुभयो । उहाँले ती दुवै उच्चस्तरीय भ्रमणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्यवन हुन बाँकी भएकाको कार्यान्वयनमा जोड दिनुभयो । चीनले पछिल्लो समय हासिल गरेको विकास लोभलाग्दो र प्रशंसनीय रहेको र नेपालमा पनि विकासको सोही गति समाउन चाहेको उहाँको भनाइ थियो । विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै उहाँले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गर्नुभयो ।

चीनले नेपालप्रति राखेको विश्वासको सधैँ कदर गर्ने मन्त्री पुनले बताउनुभयो । चिनियाँ प्रतिनिमिण्डलको नेतृत्व गरेका लियु झाओ हुईले नेपाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैँ साथ रहेको बताउनुभयो । राष्ट्रपति सी को नेपाल भ्रमण र प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एक एक गर्दै पालना गर्दै जाने प्रतिबद्धता उहाँले जनाउनुभयो । उहाँले आफूहरु तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा नेपाल आएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा चिनियाँ लगानी आउने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

Array