नयाँ जनवादी मोर्चा र क्रान्तिकारी मोर्चाबीच एकता, संयोजकमा अशोक शर्मा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ बैशाख २०८१, बुधबार
3 Min Read
Aa

काठमाडौं, नयाँ जनवादी मोर्चा नेपाल र क्रान्तिकारी मोर्चा नेपालबीच एकता भएको छ । आज (बुधबार) १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुई मोर्चाबीच एकता भएको जानकारी गराइएको हो । मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट विद्रोह गरेर बनेका दुई मोर्चाबीच एकता भएको छ । दुवै मोर्चाको राजनीतिक तथा सांगठनिक एकता सम्पन्न भएपछि एकीकृत संगठनको नाम नयाँ जनवादी मोर्चा नेपाल रहने बताइएको छ । एकीकृत भएको मोर्चामा संयोजक, सहसंयोजक र दुई प्रवक्ता रहेने व्यवस्था गरिएको क्रान्तिकारी मोर्चा नेपालका संयोजक विष्णु खड्काले बताए ।
साथै, तत्कालका लागि ८१ सदस्यीय केन्द्रीय समिति र २७ सदस्यीय सचिवालय समिति निर्माण भइसकेको बताइएको छ । एकतापछि मोर्चाको संयोजक अशोक शर्मा र सह–संयोजकमा विष्णु खड्का रहने छन् । प्रवक्ताद्धयमा भने गणेश घिमिरे र दिनेश बर्तौला रहने जनाईएको छ ।  स्थानीय तह र जनवर्गीय संगठनका एकताका कामहरु चाँडोभन्दा चाँडो सम्पन्न गर्न ९ सदस्यीय एकता संयोजन समितिसमेत निर्माण गरिएको खड्काले बताए ।  क्रान्तिकारी मोर्चा नेपालका संयोजक खड्काले १० वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पूरा गर्न नसकेको टिप्पणी गरे । आफूहरु शोषित, पीडित र उत्पीडित समुदायको सत्ता निर्माण गर्न नयाँ ढंगले लागिपरेको उनले बताए ।
‘नेपालमा नयाँ जनवादी क्रान्तिको लक्ष्य पूरा गर्नका निमित्त हामी विभिन्न कोणबाट विभिन्न मोर्चा र समूहमा वर्ग संघर्षको लडाइँमा सहभागी छौं । नेपालको १० वर्षे महान जनयुद्धले नेपालको जनवादी क्रान्ति पूरा गर्न नसकेपछि पूरा गर्न नयाँ ढंगको वर्ग संघर्षको तयारी गर्नुपर्छ र शोषित, पीडित र उत्पीडित समुदायको सत्ता निर्माण गर्न नयाँ ढंगले लाग्नुपर्छ भनेर हामीहरु लामो समयदेखि संघर्षरत छौं । कम्युनिष्ट पार्टीहरु टुटफुट र विभाजनको विरुद्ध नयाँ सन्देश दिँदै एकताको नयाँ संघारमा छौं,’–खड्काले भने ।
नेपालको जनवादी क्रान्ति पूरा गर्न विचार मिल्ने कम्युनिष्टहरु मिल्नुको विकल्प नरहेको खड्काले बताए । उनले सिद्धान्त र व्यवहारमा तालमेल नभएका र आफूलाई कम्युनिष्ट बताउने पार्टीहरु नेपालमा धेरै रहेको टिप्पणी गरे ।
नयाँ जनवादी मोर्चा नेपालका संयोजक अशोक शर्माले क्रान्तिका नयाँ आशा, सम्भावना र चरणहरुलाई पार गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ एकता प्रक्रियामा सामेल भएको बताए । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादलाई नेपाली समाजको परिवेशमा लागू गर्नु मोर्चाको मूल ध्येय रहेको उनले बताए । मोर्चा जनवादी केन्द्रीयताको माध्यमबाट क्रान्तिको सिद्धान्तअनुरुप निरन्तर समाजवाद र साम्यवादको दिशातिर अग्रसर रहने उनले बताए ।
नयाँ जनवादी मोर्चा नेपालका प्रवक्ता दिनेश बर्तौलाले दुई मोर्चाबीच एकताको क्षण ऐतिहासिक रहेको बताए । उनले नेपालमा रुपमा क्रान्तिकारी र सारमा दक्षिणपन्थीकै पक्षपोषण गर्ने कम्युनिष्टहरु रहेको उनले बताए । आफूहरु साम्यवादसम्मको लक्ष्यमा दृढ रहेको बर्र्तौलाले बताए ।
एकता कार्यक्रममा देशभक्त जनसरोकारका संयोजक रामकुमार लामा, क्रान्तिकारी कम्युनिष्ट पार्टीनिकट क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य परित्याग गरी मोर्चामा आवद्ध भएका शिवहरि घिमिरे, नेपाल कम्युनिष्ट पार्टी रातो ताराका महासचिव लक्ष्मण उप्रेती, वुद्धिजीवी डा. ऋषिराज बराल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीलगायतले मोर्चालाई शुभकामना दिँदै आ–आफ्नो धारणा राखेका थिए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array