संघिय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुंदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ बैशाख २०८१, शुक्रबार
4 Min Read
Aa

नारायण काफ्ले काठमाडौँ, वैशाख २८ गते । सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार दिउँसो २ बजे अधिवेशनको पहिलो बैठक बोलाइएको छ ।

हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो । त्यसको तीन सातापछि सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । हिउँदे अधिवेशन प्रभावकारी नभएको गुनासोपछि सभामुख देवराज घिमिरेले सभाको अवरोध अन्त्यलगायतका विषयमा बुधबार प्रमुख दलका शीर्ष नेतासँग समेत परामर्श गर्नुभएको थियो । अघिल्लो अधिवेशनबाटै सुरु भएको सहकारीको रकम हिनामिना प्रकरणको विषयमा संसदीय छानबिन समिति बन्ने वा नबन्ने विषय निक्र्यौल भने भएको छैन ।

अधिवेशनको प्रारम्भमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइने छ । यस्तै सभामुख/अध्यक्ष तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलको घोषणा हुने छ ।

दलीय आधारमा सदनलाई सम्बोधन पनि संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ । साथै लगानी सहजीकरणका लागि सरकारले विभिन्न आठ कानुन संशोधनका लागि ल्याएको अध्यादेश पनि बैठकमा पेस गर्ने राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा छ ।

प्रतिनिधि सभाले भने अध्यादेश सम्भावित कार्यसूचीमा राखेको छैन । अध्यादेश जारीपछिको अधिवेशनको पहिलो बैठकमै अध्यादेश पेस गर्नुपर्ने व्यवस्था भए पनि सरकारका तर्फबाट सचिवालयले कुनै जानकारी पाएको छैन । जसका कारण प्रतिनिधि सभाले सम्भावित कार्यसूचीमा अध्यादेश राखेको छैन ।

साथै लगानी सहजीकरणका लागि सरकारले विभिन्न आठ कानुन संशोधनका लागि ल्याएको अध्यादेश पनि बैठकमा पेसको कार्यसूची रहने छ । संविधान सभा तथा संसद्का पूर्वसदस्य निधनको शोक प्रस्ताव पनि कार्यसूचीमा हुने छ ।

विधायिकी कार्यमा भने यो पटक पनि ठोस् उपलब्धि हुने देखिन्न । माथिल्लो सदनबाहेक प्रतिनिधि सभाले विचाराधीन विधेयकको प्रतिवेदन तयार पार्न सकेको छैन । सङ्घीय संसद्का सहायक प्रवक्त दशरथ धमलाका अनुसार दुवै सदनमा विभिन्न चरणमा गरेर २५ विधेयक छन् । जसमध्ये प्रतिनिधि सभामा विभिन्न चरणमा २३ विधेयक छन् ।

त्यस्तै माथिल्लो सभामा दुई विधेयक विचाराधीन छन् । दुईमध्ये एक विधेयक दर्ता मात्र भएको छ । एक विधेयक समितिले दफाबार छलफलसहितको प्रतिवेदन तयार पारे पनि सभामा पेस हुन बाँकी छ । सुरक्षित कारोबारको दफाबार छलफल सकिएको छ । मिडिया काउन्सिल विधेयक सभामा पेस हुने क्रममा छ । प्रतिनिधि सभामा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, सङ्घीय निजामती, निर्माणमुखी सामग्री व्यवस्थापन, राजनीतिक दलसम्बन्धी विधेयक विचाराधीन छन् । यस्तै भन्सार, बैङ्किङ कसुर तथा सजाय, विद्यालय शिक्षा, विद्युत्लगायतका विधेयक पनि प्रतिनिधि सभामा नै विभिन्न चरणमा विचाराधीन छन् ।

सङ्घीय संसद्को पहिलो अधिवेशनमै दर्ता भएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पनि समितिमा दफाबार छलफलका व्रmममा छन् । यस्तै राष्ट्रिय सभाबाट प्राप्त केही विधेयक पेसका क्रममा छन् । अधिवेशनमा सरकारका तर्फबाट वार्षिक नीति तथा कार्यक्रम पेस हुने छ । साथै जेठ १५ गते बजेट पेस हुने छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित जनता समाजवादी पार्टीलाई पनि सचिवालयले सत्तापक्षकै आशनको व्यवस्था गरेको छ । यस्तै इलाम उपनिर्वाचनबाट निर्वाचित एमालेका सुहाङ नेम्वाङ, जनता समाजवादीकी हसिना खान र कांग्रेसका टेकबहादुर गुरुङ पहिलो पटक बैठकमा सहभागी हुँदै छन् । २०७९ कै निर्वाचनमा गुरुङ मनाङबाट निर्वाचित भए पनि भ्रष्टाचार मुद्दाका कारण सहभागी हुन पाएका थिएनन् । सर्वोच्च अदालतले रिटमार्फत निलम्बन गर्ने सूचना बदर गरेपछि उहाँ बैठकमा सहभागी हुन लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array