दलहरूले आफ्ना आर्थिक एजेन्डालाई प्राथमिकता दिनुपर्ने : अध्यक्ष चन्द्रप्रसाद ढकाल

Sagarmatha Post
Sagarmatha Post १८ माघ २०८२, आईतवार
2 Min Read
Aa

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले आफ्ना आर्थिक एजेन्डा स्पष्ट रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। अन्य राजनीतिक दललाई आलोचना गरेर मात्र आफूलाई स्थापित गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा धारणा राख्दै अध्यक्ष ढकालले अहिलेसम्म कुनै पनि राजनीतिक दलका घोषणापत्रमा आर्थिक मुद्दा प्राथमिकतामा नपरेको बताए।

‘राजनीतिक दलका नेताहरूले अर्को दललाई नराम्रो देखाउने प्रचलन मौलाएको छ, तर आफ्ना एजेन्डा र नीतिलाई स्थापित गर्नेतर्फ कसैको ध्यान देखिँदैन,’ ढकालले भने।उनले निजी क्षेत्रप्रति राजनीतिक दलहरूको दृष्टिकोण प्रायः नकारात्मक रहँदै आएको उल्लेख गर्दै त्यसको असर विभिन्न समयमा निजी क्षेत्रले भोग्नुपरेको बताए। निजी क्षेत्रले राज्यलाई गरेको योगदान—रोजगारी सिर्जना, कर राजस्व र आर्थिक गतिविधिमा दिएको योगदान—बारे राजनीतिक नेतृत्व र दलहरूले पर्याप्त चर्चा नगरेको उनको भनाइ थियो।

‘रोजगारी सिर्जना गरेका कुरा, कर तिरेका कुरा किन चर्चामा आउँदैनन् ? मन्त्रालय–मन्त्रालयबीच समन्वय छैन,’ ढकालले भने, ‘निर्णय गर्दा लोकप्रियता खोज्ने प्रवृत्ति बढेको छ। राज्यलाई दीर्घकालीन क्षति हुने भए पनि तत्काल चर्चा बटुल्नेजस्ता निर्णय हुने गरेका छन्।’अध्यक्ष ढकालले निजी क्षेत्रलाई राज्यले प्रवर्द्धन (प्रमोट) र संरक्षण (प्रोटेक्सन) नगरेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने स्पष्ट पारे। आर्थिक वृद्धिका लागि नीति, स्थायित्व र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उनले जोड दिए।

उनका अनुसार आगामी निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले घोषणापत्र तयार गर्दा आर्थिक सुधार, लगानीमैत्री वातावरण र निजी क्षेत्रको भूमिकालाई केन्द्रमा राख्न आवश्यक छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्