जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बयान बुधबारदेखि मात्रै सुरु हुने भएको छ। शनिबार पक्राउ परेका ओलीलाई स्वास्थ्य समस्याका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नं गणमा राखिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दुवै जनाको बयान लिने तयारी भइरहेको छ र बुधबारबाट मात्रै औपचारिक रूपमा बयान प्रक्रिया सुरु गरिनेछ। यस प्रकरणमा प्रहरीले ज्यानसम्बन्धी मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइरहेको छ। काठमाडौँ जिल्ला अदालतले आइतबार पहिलो चरणमा ५ दिनको म्याद दिएको थियो जुन बुधबार सकिँदैछ। यदि अनुसन्धान अपूरो रहेमा थप म्यादका लागि पुनः अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ। ओली र लेखकले भने आफूहरूलाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्