काठमाडौँ। नेपाली धितोपत्र बजारमा मंगलबार शेयर कारोबार परिसूचक नेप्से घटेर बन्द भएको छ । लगातार उतारचढावबीच बजारमा आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले घट्दै दुई हजार ७७७ दशमलव १० बिन्दुमा झरेको हो ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि एक दशमलव ४५ अङ्कले घटेर ४७४ दशमलव २९ बिन्दुमा सीमित भएको छ ।
आजको कारोबारमा कुल ३४० कम्पनीका एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको छ ।कारोबार भएका कम्पनीहरूमध्ये ६९ कम्पनीको शेयर मूल्य बढ्दा १९० कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, साहस ऊर्जा, ङ्यादी ग्रुप पावर र अपि पावर कम्पनी शीर्ष स्थानमा रहेका छन् ।
दिनभरको कारोबारमा कालिञ्चोक हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था तथा नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यता, सुपर खुदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, एनआइसी एसिया बैंक र सालपा विकास बैंकका शेयरधनीले भने घाटा व्यहोरेका छन् ।


प्रतिक्रिया दिनुहोस्