नेप्से परिसूचक : २.६६ अंकले बढेर २,७८० अंकमा कायम

Sagarmatha Post
Sagarmatha Post २० जेष्ठ २०८३, बुधबार
2 Min Read
Aa

अघिल्लो कारोबार दिन २२.२१ अंकले बढेको सेयर बजार बुधबार भने सामान्य सुधारमा सीमित भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६६ अंकले बढेर २,७८० अंकमा कायम भएको हो।दिनभर बजार सामान्य उतारचढावमा रहे पनि कारोबार रकममा भने वृद्धि भएको छ। अघिल्लो दिन ५ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

क्षेत्रगत रूपमा निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। यो समूह ३.३७ प्रतिशतले बढ्दै वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत तेस्रो पक्षको बीमांक रकम दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याउने व्यवस्था गरेपछि निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षासहित लगानीकर्ताको चासो बढेको विश्लेषण गरिएको छ।त्यस्तै जीवन बीमा समूह १.७३ प्रतिशत, विकास बैंक ०.६६ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत तथा होटल तथा पर्यटन समूह ०.१८ प्रतिशतले बढेका छन्।

यता अन्य समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ। साथै फाइनान्स समूह १.१६ प्रतिशत, व्यापार ०.२४ प्रतिशत, लगानी ०.२० प्रतिशत, बैंकिङ ०.१३ प्रतिशत तथा जलविद्युत् समूह ०.११ प्रतिशतले ओरालो लागेका छन्।व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। एसबीएल डिबेन्चर (२०८४) १४.९३ प्रतिशत, विजय लघुवित्त ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावर ७.०५ प्रतिशत तथा नेपाल इन्स्योरेन्स ६.१७ प्रतिशतले उकालो लागेका छन्।यता नेपाल पुनर्बीमाको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले घटेको छ। सेन्ट्रल फाइनान्स ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स ३.३९ प्रतिशत तथा त्रिशूली जलविद्युत् ३.३९ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर सबैभन्दा बढी कारोबार भएका कम्पनीमा परेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्