राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट पारित

Sagarmatha Post
Sagarmatha Post १५ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रियसभाबाट उत्पत्ति भएको उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले अनुमोदन भएको हो।

प्रस्तावमाथि धारणा राख्दै मन्त्री पुनले डीएनए परीक्षणलाई थप छिटो, प्रभावकारी र सहज बनाउने तथा विधि विज्ञान सेवाको प्रदेशस्तरसम्म विस्तार गर्ने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारे। उनले प्रयोगशालाबाट प्राप्त हुने संवेदनशील तथ्यांक अनधिकृत रूपमा बाहिरिन नदिन आवश्यक कानुनी व्यवस्था गरिएको जानकारी पनि दिए। उनका अनुसार विधेयकमाथि सांसदहरूले यसअघि विस्तृत रूपमा छलफल गरी आवश्यक विषयहरूमा शब्द–शब्द अध्ययन गरेका थिए।

विधेयकमाथिको छलफलमा सांसदहरू शोभा खनाल, बसुमाया तामाङ, मञ्जु भुसाल, गङ्गालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, टेकबहादुर शाक्य, प्रमिला कुलुजू, हरिमोहन भण्डारी, जनकसिंह धामी, पुकार बम, नीता घतानी, एशुदाकुमारी बराल, गुरूप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, साजिदा खातुन सिद्धिकी र लेखजङ्ग थापाले सहभागिता जनाउँदै आफ्ना धारणा प्रस्तुत गरेका थिए।प्रतिनिधिसभाको अर्को बैठक असोज १५ गते बिहान ११ बजे बस्ने गरी तय गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्