शिक्षाले ज्ञानसँगै जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ :राष्ट्रपति पौडेल

Sagarmatha Post
Sagarmatha Post १७ आश्विन २०८३, शनिबार
2 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले विद्यार्थीलाई परीक्षामुखी ज्ञान र प्रमाणपत्रमा मात्र सीमित नराखी समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा जिम्मेवार नागरिकका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ। ललितपुरमा शनिबार आयोजित सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षाको उद्देश्य व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार शिक्षा केवल परीक्षामा राम्रो अंक हासिल गर्ने वा प्रमाणपत्र प्राप्त गर्ने माध्यम हुनुहुँदैन।

राष्ट्रपति पौडेलले नेपाल भाषा, संस्कृति, परम्परा र विविध जीवनपद्धतिले समृद्ध मुलुक भएकाले शैक्षिक प्रणालीले देशको विविधतालाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो। शिक्षामार्फत विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो। समयसँगै परिवर्तन भइरहे पनि आधारभूत मानवीय मूल्यहरूलाई अझ बलियो बनाउन आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो। सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा कस्तो राष्ट्र निर्माण गर्ने र भविष्यमा कस्तो जनशक्ति आवश्यक पर्ने भन्ने विषयको उत्तर शैक्षिक प्रणालीले दिन सक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

उहाँले प्रविधिको प्रभावकारी प्रयोगसँगै समयअनुकूल पाठ्यक्रम र शिक्षण पद्धतिको विकासमा जोड दिनुपर्ने बताउनुभयो। ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा तथा सामाजिक उत्तरदायित्व भएका नागरिक उत्पादन गर्नु आजको शिक्षाको प्रमुख दायित्व रहेको उहाँको भनाइ थियो। राष्ट्रपति पौडेलले स्वदेशमै उत्पादन र रोजगारीका अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याउने किसिमको शिक्षा आवश्यक रहेको बताउनुभयो। देशप्रति जिम्मेवारी र देशभक्तिको भावना विकास गर्ने शिक्षामा विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्