काठमाडौँ। बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपसहित विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ। दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुग्ने ग्राहकको सङ्ख्या बढेसँगै बजारमा चहलपहलसमेत बढेको हो।परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहक बढेपछि भृकुटीमण्डपका व्यापारीहरू व्यस्त भएका छन्। ग्राहकहरू विभिन्न पसलमा कपडा छनोट गर्ने, मूल्य बुझ्ने तथा आवश्यक सामग्री खरिद गर्न व्यस्त देखिन्छन्।
भृकुटीमण्डपस्थित खुला बजारका फेन्सी पसल सञ्चालक अशोक खतिवडाले केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्दै गएको बताए। उनका अनुसार बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।“दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। आज बिहानदेखि बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ,” उनले भने।
अर्का व्यापारी श्यामप्रकाश अधिकारीले दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको बताए। ग्राहकको चाप बढेसँगै सामान देखाउने, रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न व्यापारीलाई भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ।
भृकुटीमण्डपमा कपडासँगै जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढेको व्यापारीहरूले बताएका छन्। एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुनुका साथै आफ्नो बजेटअनुसार सामान छनोट गर्न सकिने भएकाले खुला बजार ग्राहकको रोजाइमा पर्ने गरेको उनीहरूको भनाइ छ।
विशेषगरी सीमित आम्दानी भएका परिवारले चाडपर्वमा सस्तो बजारलाई प्राथमिकता दिने गरेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न खुला बजार तथा सडक किनारका पसलमा सपिङ मल र ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा कपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहक आकर्षित हुने गरेका छन्।सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा कपडा बिक्री गर्दै आएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताइन्। उनका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्यसँगै गुणस्तरलाई समेत प्राथमिकता दिने गरेका छन्।
मौसममा क्रमिक सुधारसँगै चिसो मौसमका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन्। व्यापारी हरिकृष्ण कँडेलका अनुसार विशेषगरी ज्याकेट, स्विटर, ट्र्याकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको छ।दसैँलगायतका चाडपर्व नजिकिँदै जाँदा भृकुटीमण्डप, असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा र नयाँसडकलगायतका बजारमा ग्राहकको चाप अझ बढ्ने व्यवसायीको अपेक्षा छ। उपत्यकाबाहिरबाट चाडपर्वका लागि काठमाडौँ आएका नागरिकसमेत आवश्यक सामग्री खरिद गर्न बजारमा व्यस्त हुन थालेका छन्।
व्यापारीहरूले दसैँलाई लक्षित गर्दै विभिन्न सामानको मौज्दातसमेत बढाएका छन्। ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरूले बताएका छन्। ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्