चक्रवात ‘अर्नब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

Sagarmatha Post
Sagarmatha Post ११ कार्तिक २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौँ, बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले यही कात्तिक १३ र १४ गते नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।प्राधिकरणले सूचना जारी गर्दै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अर्नब’को प्रभाव शुक्रबार, कात्तिक १३ गतेदेखि नेपालमा देखिन सक्ने अनुमान गरिएको छ ।चक्रवातको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत पर्न सक्नेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

सम्भावित विपद्बाट जोगिन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा स्थगित गर्न तथा नदी, खोला किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता केसीका अनुसार आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन सर्वसाधारणले मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सक्नेछन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्