रबिन थपलिया । काठमाडौं । बालबालिकाको खेलकुद प्रतिभा, अनुशासन तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित एन्जल्स’ हार्ट नेशनल स्कुलले “१st Angels’ Heart National School Cup Junior Inter-School Futsal Tournament 2026” आयोजना गर्ने भएको छ। “Let Me Do, Myself” भन्ने प्रेरणादायी नारालाई आत्मसात् गर्दै आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी मे २४, २०२६ मा विद्यालय परिसर, तारकेश्वर–०९, इन्द्रायणी ब्रिज, मनमैजु, काठमाडौंमा सञ्चालन हुने जनाइएको छ।
विद्यालय व्यवस्थापनका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा केवल खेलकुद क्षमता मात्र होइन, सहकार्य, नेतृत्व, प्रतिस्पर्धात्मक भावना तथा सकारात्मक सोचको समेत विकास गर्ने अपेक्षा गरिएको छ। पछिल्लो समय बालबालिकामा डिजिटल उपकरणको अत्यधिक प्रयोग बढिरहेका बेला यस्ता खेलकुद गतिविधिले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास आयोजकको छ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहनेछ। निर्धारित खेल तालिकाअनुसार बिहान ११:०० देखि ११:३० बजेसम्म एन्जल्स’ हार्ट नेशनल स्कुल र किड्स लर्निङ स्कुलबीच उद्घाटन खेल हुनेछ। त्यसपछि ११:४५ देखि १२:१५ बजेसम्म काठमाडौं यूरो आईबी वर्ल्ड स्कुल र समृद्धि स्कुल आमनेसामने हुनेछन्। यस्तै, १२:३० देखि १:०० बजेसम्म काव्या स्कुल र रोना इन्टरनेशनल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ भने १:१५ देखि १:४५ बजेसम्म प्यारामाउन्ट एकेडेमी र फ्युचर स्टार स्कुलबीच रोचक भिडन्त हुने विद्यालयका प्रधानाध्यापक टक बहादुर थापाले जानकारी दिनुभयो । ।
विद्यालयका प्रधानाध्यापक थापाले प्रतियोगिता केवल खेलमा सीमित नभई विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकाससँग जोडिएको बताउनुभयो । उहाँले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन विद्यालय निरन्तर सक्रिय रहने बताँउदै प्रतियोगिताले विद्यालयहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउँदै स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा अभिभावक, शिक्षक, खेलप्रेमी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
बालमैत्री वातावरणमा आयोजना हुन लागेको यस फुटसल प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदमार्फत सिर्जनशील, आत्मनिर्भर र अनुशासित नागरिक बन्न प्रेरित गर्ने विश्वास लिइएको छ। खेलकुद क्षेत्रको विकाससँगै विद्यालयस्तरबाट नै सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य बोकेको यो प्रतियोगिता राजधानीको शैक्षिक तथा खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्