लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिए मन्त्री महाविर पुन, आफ्नै जिल्लाका पालिकाले नटेरेको गुनासो

Sagarmatha Post
Sagarmatha Post २३ श्रावण २०८३, शनिबार
6 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । ‘समृद्ध म्याग्दी निर्माणमा जनप्रतिनिधिहरूको भूमिका र जनताको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंको आयोजनामा तारकेश्वर–९ स्थित एन्जल्स स्पोट्र्स एकेडेमीमा आयोजित कार्यक्रममा विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
सार्वजनिक कार्यक्रममा बिरलै देखिनुहुने मन्त्री पुन लामो समयपछि जिल्लासँग सम्बन्धित कार्यक्रममा सहभागी हुनुभएको हो। कार्यक्रममा उहाँले आफूले सार्वजनिक कार्यक्रममा सहभागी नहुने घोषणा गरे पनि म्याग्दीको विकास र समृद्धिका विषयमा छलफल गर्न आयोजना गरिएको कार्यक्रम भएकाले सहभागी भएको बताउनुभयो।
मन्त्री पुनले आफू म्याग्दीको मात्र नभई समग्र देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताउनुभयो। उहाँले म्याग्दीका पालिका प्रमुखहरूलाई बजेट निर्माण गर्दा कम्तीमा एक प्रतिशत बजेट शिक्षा र नवप्रवर्तनका क्षेत्रमा छुट्याउन आग्रह गरे पनि जिल्लाका कुनै पनि पालिकाले त्यसअनुसार बजेट विनियोजन नगरेको गुनासो गर्नुभयो। “मैले आफैंभन्दा पनि पालिकाले बजेट छुट्याएनन्। अनि शिक्षाको विकासको कुरा गरेर मात्र विकास हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो।
मन्त्री पुनले विकासका लागि नयाँ सोच र राम्रो विचार भएका मानिसको आवश्यकता रहेको भन्दै त्यस्ता व्यक्तिहरूलाई आफूहरूसँग सम्पर्क गर्न आग्रह गर्नुभयो। उहाँले म्याग्दीवासीलाई पर्यटन सहकारी दर्ता गरेर स्थानीय पर्यटन पूर्वाधार निर्माण र प्रवद्र्धनमा लाग्नसमेत आग्रह गर्नुभयो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका आफ्नो गृह गाउँपालिका भएको उल्लेख गर्दै मन्त्री पुनले त्यहाँ रहेका प्रशस्त तातोपानीका मुहानहरूको उचित संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो। स्थानीय स्रोतसाधनलाई दीर्घकालीन रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यस्ता स्रोतहरूलाई केवल ठेक्कामा दिएर मात्र समृद्धि हासिल गर्न नसकिने बताउनुभयो।
आफू नेतृत्वमा रहेको मन्त्रालयको मुख्य प्राथमिकता विदेशबाट आयात हुने वस्तुको नेपालमै उत्पादन सम्भावनाको खोजी गर्नु र त्यसलाई प्रवद्र्धन गर्नु रहेको उहाँले बताउनुभयो। स्थानीय उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सके मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने उहाँको भनाइ थियो।

मन्त्री पुनले गाउँ–गाउँमा विकास र समृद्धिका गतिविधि बढाउनुपर्ने समयमा प्रत्येक गाउँमा मेला आयोजना गर्ने प्रवृत्ति बढेको भन्दै त्यसप्रति पनि चिन्ता व्यक्त गर्नुभयो। मेलामा प्रायोजन गर्ने होडबाजी बढ्दा युवा पुस्ता पढाइ र सिर्जनशील गतिविधिभन्दा मनोरञ्जनतर्फ आकर्षित हुने गरेको उहाँले बताउनुभयो। यस्तो प्रवृत्तिले शिक्षाको विकासमा बाधा पुगेको भन्दै आफूले सुधारका लागि धेरै प्रयास गरे पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उहाँको भनाइ थियो।
कृषिमा आधुनिकीकरण र प्रविधिको प्रयोगमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री पुनले कृषि औजार केन्द्रमार्फत नयाँ कृषि प्रविधि र औजारको आविष्कारलाई प्राथमिकता दिइएको बताउनुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार दीप छन्त्यालले स्वागत मन्तव्य राख्दै म्याग्दीलाई पर्यटनको हबका रूपमा विकास गर्न सकेमा समृद्ध म्याग्दी निर्माणको आधार तयार हुने बताउनुभयो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँका अनुसार गाउँपालिका आलु, सुन्तला र गोलभेडा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। कृषि पकेट क्षेत्र निर्धारण गरी स्थानीय उत्पादनलाई ब्रान्डिङ र बजारीकरण गर्ने काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
अध्यक्ष पुनले शिक्षकको सुत्केरी बिदा ९८ दिन हुँदा विद्यालयको पठनपाठन प्रभावित हुने अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले सट्टे शिक्षकको व्यवस्था गर्ने नीति लिएको बताउनुभयो। गाउँपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई १० हजार रुपैयाँ तथा एसईईमा ३.६ जीपीए ल्याउने विद्यार्थीलाई २४ हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराउन थालेको पनि उहाँले जानकारी दिनुभयो।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद पुनले स्थानीय स्रोत र उत्पादनको प्रवद्र्धनलाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँले स्थानीय घरेलु मदिरालाई व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने योजनाबारे जानकारी दिँदै स्थानीय जडीबुटीको प्रयोगमार्फत विभिन्न उत्पादन विकास गर्न सकिने बताउनुभयो।
मालिका गाउँपालिकाले प्राङ्गारिक मल उत्पादन गरी अर्गानिक कृषि उत्पादनमा जोड दिइरहेको उहाँले बताउनुभयो। स्थानीय भाषा संरक्षण तथा प्रवद्र्धनका लागि चालु आर्थिक वर्षदेखि कक्षा १ देखि ३ सम्म मगर खाम भाषाको पठनपाठन सुरु गर्न लागिएको पनि अध्यक्ष पुनले जानकारी दिनुभयो।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले म्याग्दीका सबै स्थानीय तहको भूगोल र समस्या धेरै हदसम्म समान प्रकृतिको रहेकाले विकास र समृद्धिका लागि साझा रणनीति आवश्यक रहेको बताउनुभयो।
म्याग्दीको करिब आधा भूगोल समेटेको धवलागिरी गाउँपालिकामा १७ वटा जलविद्युत आयोजना दर्ता भएको र तीमध्ये ६ वटा सञ्चालनमा रहेको जानकारी दिँदै उहाँले जलविद्युतबाट प्राप्त रोयल्टीले गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो।
म्याग्दीका ६ वटा स्थानीय तहमध्ये धवलागिरी गाउँपालिकाले सबैभन्दा पहिले आफ्नै प्रशासनिक भवन निर्माण गरेको बताउँदै अध्यक्ष पुनले आगामी असोजमा नयाँ भवनबाट सेवा सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो।
कार्यक्रममा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि, म्याग्दीवासी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
यसैबीच कार्यक्रममा विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पुस्तक बिक्रीबाट संकलित रकमसमेत हस्तान्तरण गरिएको छ। एन्जल्स हार्ट फाउण्डेसनले पुस्तक बिक्रीबाट संकलित १ लाख रुपैयाँको चेक मन्त्री पुनलाई हस्तान्तरण गरेको थियो। धवलागिरी समाज काठमाडौंलगायत आधा दर्जनभन्दा बढी संघसंस्थाले पनि मन्त्री पुनको पुस्तक बिक्रीबाट प्राप्त रकम कार्यक्रममा उहाँलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रमकै अवसरमा हिमाल आरोहणका क्रममा हालै निधन भएका पर्वतारोही निर्मल पुर्जाको स्मरणमा श्रद्धाञ्जली सभा समेत आयोजना गरिएको थियो। सहभागीहरूले पुर्जाको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा धवलागिरी गाउँपालिका समाज काठमाडौंका अध्यक्ष लिलबहादुर पुनले म्याग्दीको विकास र समृद्धिका लागि काठमाडौंमा रहेका म्याग्दीवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। जिल्लाको विकासका लागि स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र तथा प्रवासी म्याग्दीवासीबीच सहकार्य बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

समाजका सदस्य धनबहादुर पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूले मन्त्री पुनसमक्ष म्याग्दीको विकास र निर्माणसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए। सहभागीहरूले जिल्लाको पर्यटन पूर्वाधार, सडक तथा यातायात, कृषि उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, जलविद्युत, स्थानीय स्रोतसाधनको उपयोग तथा युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए।
अन्तरक्रिया कार्यक्रमले म्याग्दीको पर्यटन, कृषि, शिक्षा, नवप्रवर्तन, जलविद्युत तथा स्थानीय उत्पादनको प्रवद्र्धनका साथै विकास निर्माणमा जनप्रतिनिधि र नागरिकबीच सहकार्यको आवश्यकता औंल्याएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्