नुवाकोट । भोटेकोसीमा आएको बाढीले फलाखु खोलाका दुवै मोटरेबल पुल बगाएपछि अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्क ४७ दिनपछि पुनःस्थापित भएको छ । भदौ १० गते आएको बाढीले नयाँ र पुरानो दुवै पुल बगाएपछि दुई जिल्लाबीचको यातायात सेवा अवरुद्ध भएको थियो ।पुल बगाएको स्थानमा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याएसँगै नुवाकोट र रसुवाबीचको सडक सम्पर्क पुनःजोडिएको हो । उक्त स्थानमा मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण गरिएको छ ।
नेपाली सेनाले करिब दुई साताको अवधिमा बेलिब्रिज निर्माण सम्पन्न गरेको हो । पुल सञ्चालनमा आएपछि नुवाकोटको विदुर नगरपालिका–१० र रसुवाको उत्तरगया गाउँपालिका–५ बीच आवागमन सहज भएको छ ।पुल निर्माण सम्पन्न भएपछि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, स्थानीय जनप्रतिनिधि तथा नेपाली सेनाका प्रतिनिधिको उपस्थितिमा बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।


प्रतिक्रिया दिनुहोस्