बडादसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु बाहिरिए

Sagarmatha Post
Sagarmatha Post २७ आश्विन २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौँ। बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका विभिन्न नाकामा यात्रुको चहलपहल बढेको हो।दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा समेत यात्रुको चाप बढेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्।उहाँका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरिएका हुन्।

घर फर्किने यात्रुको सङ्ख्या बढ्दै जाँदा यातायात व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो।उहाँका अनुसार दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्गको अवस्था बिग्रिँदा सवारीसाधनलाई समयमै गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन कठिनाइ भइरहेको छ। असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरिएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएकाले व्यवस्थापनमा थप समस्या भएको महासचिव गौतमले बताउनुभयो।

यात्रुको चाप बढेसँगै महासङ्घले टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादर तिर्न तथा यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न यात्रुलाई आग्रह गरेको छ। दसैँलाई परिवार, आफन्त र समुदायबीचको सम्बन्ध प्रगाढ बनाउने प्रमुख चाडका रूपमा लिइन्छ। यही कारण रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू हरेक वर्ष दसैँ मनाउन आफ्नो जन्मथलो फर्किने गर्छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्