काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले बिहीबारदेखि नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपातको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवात थप शक्तिशाली बन्दै जाने र अक्टोबर २८ अर्थात् कात्तिक ११ गते भारतको आन्ध्र प्रदेशस्थित यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ। त्यसपछि यसको प्रभाव नेपालमा समेत देखिन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन देखिन थाल्नेछ। विशेषगरी शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।कात्तिक १३ र १४ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम तथा थोरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले किसानलाई धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
चक्रवातको प्रभावका कारण उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले पर्यटकलाई त्यस्ता क्षेत्रमा भ्रमण नगर्न र त्यहाँ पुगिसकेकालाई जोखिमको अवधिमा सुरक्षित स्थानमा बस्न महाशाखाले सुझाव दिएको छ।यसैगरी, चक्रवातको प्रभावले तापक्रम घटेर चिसो बढ्न सक्ने, पहाडी सडक तथा सडकछेउका क्षेत्रमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैले सम्बन्धित क्षेत्रका बासिन्दा, यात्रु, पर्यटक तथा किसानलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्