महोत्तरी । दीपावली पर्व सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको रौनक बढेको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने चारदिने छठ पर्वको तयारीमा महोत्तरीसहित मिथिलाका गाउँबस्ती र बजारमा चहलपहल बढेको हो।आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा मनाइने छठको तयारीसँगै मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको महिमा गाइने भक्तिगीतले यतिबेला मिथिलाको वातावरण छठमय बनेको छ।
पर्वको तयारीस्वरूप स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्। विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन्। घरका भित्ता लिपपोत तथा रङरोगन गर्ने, बाँसका भाटा र झिक्रा प्रयोग गरी घर सजाउने तथा सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने काम भइरहेको छ। धनी–गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन्।
छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ। भेटघाट, कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो।मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री खरिद गर्नेको भीड बढेको छ। केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्रीसमेत बढेको छ। स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा बिक्रीका लागि ल्याउने तयारी गरिरहेका छन्। यस्ता सामग्रीको बिक्री शनिबार मुख्य रूपमा हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो।
त्यस्तै, छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ। बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजाका सामग्री राख्ने टौला तथा पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको माग पनि बढेको छ। छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको कारोबार बढेको हो।यसैबीच, घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि बढेको छ। ठकुवा र भुसुवालगायत परिकार बनाउन गृहिणीहरू व्यस्त छन्। चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्य मिलेर प्रसाद तयार गर्ने चलन छ।
मिथिलाका महिलाहरू छठका लागि आवश्यक चामल र गहुँको पिठो तयार गर्न व्यस्त देखिन्छन्। भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठ पर्वमा निष्ठा र पवित्रता सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो।मिथिला क्षेत्रमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ। पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ भने दोस्रो दिन ‘खरना’ गरिन्छ। तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।
छठ पर्वले सामाजिक सद्भाव, एकता र समानताको सन्देशसमेत दिने गरेको छ। यस अवसरमा पुराना मनमुटाव बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन्। छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पूजा गर्ने परम्परा छ।
पर्वको तयारीदेखि पूजाआराधनासम्म सामूहिक सहभागिता रहने भएकाले यसले आपसी सहयोग, सद्भाव र भाइचारालाई बलियो बनाउने स्थानीयवासीको विश्वास छ। सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले परिवार तथा समाजमा सुख, शान्ति र कल्याण ल्याउने जनविश्वास रहिआएको छ।


प्रतिक्रिया दिनुहोस्