काठमाडौं । हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि अमेरिकाभर प्रभावित भएका हवाई उडान पुनः सञ्चालनमा आएका छन्। शुक्रबार देखिएको खराबीका कारण १३ हजारभन्दा बढी उडान प्रभावित भएपछि अमेरिकी अधिकारीहरूले देशव्यापी रूपमा विमान उडानमा अस्थायी प्रतिबन्ध लगाएका थिए।
अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको कारण पहिचान भइसकेको र हवाई क्षेत्र पुनः सञ्चालनका लागि खुला गरिएको जानकारी दिएका छन्। यद्यपि, प्रभावित उडानको चाप र अवरुद्ध तालिका व्यवस्थापन गर्न समय लाग्ने भएकाले सेवा क्रमशः सामान्य अवस्थामा फर्कने उनले बताएका छन्।
राडार तथा सञ्चार प्रणालीमा समस्या
यातायात सचिव डफीका अनुसार शुक्रबार दिउँसो ३ बजेर ३६ मिनेटमा विभिन्न एयर ट्राफिक कन्ट्रोल केन्द्र र टर्मिनल राडार अप्रोच कन्ट्रोल (ट्र्याकन) प्रणालीमा प्राविधिक खराबी देखिएको थियो।
यसका कारण विमानको राडारसम्बन्धी सूचना प्राप्त गर्न र विमानसँग सञ्चार सम्पर्क कायम राख्न कठिनाइ भएको थियो। सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न हवाई सुरक्षा अधिकारीहरूले देशभरका विमानलाई उडान नगर्न निर्देशन दिँदै ‘ग्राउन्ड स्टप’ लागू गरेका थिए।
निर्णय हुँदा आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए। ती सबै विमानले हवाई ट्राफिक नियन्त्रण निकायको निर्देशनअनुसार सुरक्षित अवतरण गरेको जनाइएको छ।
साइबर आक्रमण र एआईको भूमिका अस्वीकार
अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले हवाई ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको समस्या साइबर आक्रमणका कारण नभएको स्पष्ट पारेका छन्। उक्त घटना माइक्रोसफ्टको प्रणालीमा आएको अवरोधसँग पनि सम्बन्धित नरहेको उनको भनाइ छ।
प्रारम्भिक अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (एआई) का कारण प्राविधिक समस्या उत्पन्न भएको कुनै संकेत फेला नपरेको अधिकारीहरूले बताएका छन्।
पुरानो प्रविधिका कारण जोखिम बढेको आशंका
यातायात सचिव डफीले हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेको पुरानो हार्डवेयरमा आएको खराबीले समस्या निम्त्याएको बताएका छन्। अमेरिकी हवाई यातायात प्रणालीलाई सुरक्षित र प्रभावकारी बनाउन आधुनिक पूर्वाधार निर्माण तथा विद्यमान प्रविधिको स्तरोन्नति आवश्यक रहेको उनले औँल्याएका छन्।
यसका लागि आवश्यक बजेट उपलब्ध गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी संसद्सँग पहल गर्दै आएको पनि उनले बताएका छन्।
सन् २००१ पछि दोस्रो पटक देशव्यापी उडान अवरोध
सेप्टेम्बर ११, २००१ को आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा हवाई उडान रोकिएको यो दोस्रो घटना भएको बताइएको छ।
यसअघि सन् २०२३ जनवरीमा अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को कम्प्युटर प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान प्रभावित भएका थिए।
पछिल्लो घटनाले अमेरिकी हवाई यातायात प्रणालीमा प्रयोग भइरहेका पुराना प्राविधिक पूर्वाधारको अवस्था, सुरक्षा र विश्वसनीयतामाथि पुनः बहस सिर्जना गरेको छ।


प्रतिक्रिया दिनुहोस्