काठमाडौं । सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ। छठको अन्तिम दिन व्रतालुहरूले बिहानै नदी, पोखरी तथा जलाशयमा पुगेर गाईको दूध, फूल र जल चढाउँदै उदाउँदो सूर्यको पूजा गरेका छन्। सूर्योदयका समयमा सूर्यलाई अर्घ्य दिएर दर्शन गरेपछि छठ पूजा सम्पन्न हुने धार्मिक विधि रहेको छ। यसरी बिहान घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज बिहान ६ बजेर १९ मिनेटमा सूर्योदय भएको थियो। पूजाका क्रममा व्रतालुहरू कम्मरसम्म पानीमा डुबेर सूर्य उदाउने प्रतीक्षा गर्ने र उदाएपछि अर्घ्य अर्पण गर्ने परम्परा छ। छठ पूजा सम्पन्न भएपछि घाटमा प्रसाद वितरण गर्ने चलनसमेत रहेको छ।
पृथ्वीमा रहेका जीवजन्तुको जीवन रक्षामा जल र सूर्यको महत्त्वपूर्ण भूमिका रहेकाले नदीलाई माता र सूर्यलाई शक्तिको प्रमुख स्रोतका रूपमा मानेर पूजा गर्ने धार्मिक विश्वास छ। कार्तिक शुक्ल पक्षमा सूर्यको आराधना गर्दा मनोकामना पूरा हुने र इच्छित फल प्राप्त हुने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताउनुभएको छ।
सूर्यषष्ठीका रूपमा समेत चिनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजाआराधना गर्न शास्त्रमा निर्देश गरिएको उहाँको भनाइ छ। यस अवसरमा विवाहित महिला तथा पुरुषले आफ्नो पति वा पत्नीको दीर्घायु र अविवाहितले सुयोग्य जीवनसाथी प्राप्तिको कामना गर्दै व्रत बस्ने गर्छन्। सन्तान प्राप्ति, पारिवारिक सुख र समृद्धिको कामनासहित छठ मनाउनेको सङ्ख्या पनि उल्लेख्य छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्व यस वर्ष शुक्रबारदेखि सुरु भएको थियो। पहिलो दिन स्नान गरी चोखो भोजन गर्ने परम्परा छ। व्रत सुरु गरेपछि पर्व सम्पन्न नहुँदासम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर र मुसुरोलगायतका खाद्यपदार्थ सेवन गर्दैनन्। अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत सम्पन्न हुन्छ।
काठमाडौं उपत्यकामा पनि बढ्दो छठको रौनक
विशेषगरी तराई–मधेसको मिथिला संस्कृतिसँग जोडिएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा पनि व्यापक रूपमा मनाउन थालिएको छ। विसं २०४६ पछि उपत्यकामा छठ मनाउने क्रम बढेको हो। विसं २०६३ पछि थापाथली, गौरीघाट र रानीपोखरीमा समेत विशेष महत्त्वका साथ पर्व मनाउन थालिएको थियो। तर, विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा छठ मनाउने क्रम रोकिएको छ। पछिल्लो समय कमलपोखरीमा भने भव्य रूपमा छठ मनाउन थालिएको छ।
यस वर्ष छठका लागि गुह्येश्वरी, कमलपोखरी, थापाथली, बल्खुलगायत स्थानमा आकर्षक घाट निर्माण गरी झिलिमिली बत्ती र फूलमालाले सजाइएको थियो। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाआराधना गरेका व्रतालुहरू आज बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ्य दिन घाटमा पुगेका थिए।
छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार धेरै व्रतालु रातभर गुह्येश्वरी र गौरीघाट क्षेत्रमा जाग्राम बसेका थिए।
देशव्यापी बन्दै छठ पर्व
दुई दशकअघिसम्म पूर्वी तराई–मधेसका केही जिल्लामा मात्र सीमित रहेको छठ पर्व अहिले देशव्यापी रूपमा विस्तार भएको छ। यस पर्वमा विभिन्न धर्म र समुदायका मानिसहरूको सहभागिता बढ्दै गएको छ। छठको बढ्दो महत्त्वलाई ध्यानमा राख्दै सरकारले यस वर्षदेखि कार्तिक शुक्ल सप्तमीका दिनसमेत सार्वजनिक बिदा दिएको छ।
पौराणिक मान्यता
धार्मिक मान्यताअनुसार छठी माताले सूर्यदेवलाई प्रसन्न पार्ने उद्देश्यले यस पर्वको सुरुवात भएको विश्वास गरिन्छ। महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेको प्रसङ्गलाई पनि छठ पर्वसँग जोड्ने गरिन्छ। पाण्डवहरू मिथिलाका विराट राजाको दरबारमा बस्दा सूर्यको पूजा गरेपछि अज्ञातवास सफल भएको जनविश्वास छ।
त्यसैगरी, सूर्य पुराणमा उल्लेख भएअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ। यही घटनापछि छठ पर्व मनाउने परम्परा सुरु भएको जनश्रुति रहिआएको छ।
धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वले पारिवारिक एकता, आपसी प्रेम र सांस्कृतिक सहिष्णुताको सन्देश प्रवाह गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्