दसौँ राष्ट्रिय खेलकुदका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक

Sagarmatha Post
Sagarmatha Post ६ मंसिर २०८३, आईतवार
2 Min Read
Aa

कर्णाली । यही मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आइतबार सार्वजनिक गरेको विवरणअनुसार एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल र कबड्डी प्रतियोगिता सुर्खेतमा सञ्चालन हुनेछन्।

त्यसैगरी कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र ई-स्पोर्ट्सका खेल पनि सुर्खेतकै विभिन्न स्थानमा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिएका छन्। उनका अनुसार टेनिस तथा महिला र पुरुष खो–खो प्रतियोगिता बर्दियामा, पौडी र सुटिङ नेपालगञ्जमा, जुडो र कुस्ती सल्यानमा तथा आईटीएफ तेक्वान्दो दैलेखमा सञ्चालन हुनेछन्।

त्यस्तै, महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा, बुद्धिचाल कालीकोटमा र शारीरिक सुगठन पश्चिम रुकुममा आयोजना गरिनेछ। सदस्यसचिव मेहत्ताका अनुसार प्रतियोगिताअन्तर्गत सुर्खेतमा २२, सल्यानमा दुई, बाँके र बर्दियामा दुई–दुई तथा जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल सञ्चालन हुनेछन्।

प्रतियोगिताका केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुने भए पनि औपचारिक उद्घाटन भने मङ्सिर १६ गते गरिनेछ। आयोजकका अनुसार प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल गरी करिब नौ हजार जनाको सहभागिता रहनेछ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्