नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर

Sagarmatha Post
Sagarmatha Post ७ मंसिर २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौं । नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार दुवै देशले फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीहरूको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्नेछन्।

समझदारी भएका आठ क्षेत्र यसप्रकार छन् :

१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन, अनुसन्धान तथा प्राविधिक ज्ञान आदानप्रदानमा सहकार्य हुनेछ।

२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी जनशक्तिको तालिम तथा क्षमता अभिवृद्धिका लागि समझदारी भएको छ।

३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच सहकार्य गरी नेपाली सरकारी अधिकारीहरूको क्षमता विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिका लागि प्रशिक्षण प्रदान गरिनेछ।

४. आयुर्वेद तथा परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत चिकित्सा पद्धतिको विकास, प्रवर्द्धन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्नेछन्।

५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण तथा सञ्चालनसम्बन्धी सहकार्य गर्ने समझदारी भएको छ।

६. सहरी विकास : दुवै देशले दिगो सहरी विकास, पूर्वाधार निर्माण तथा सहरी व्यवस्थापनका क्षेत्रमा प्राविधिक सहयोग र अनुभव आदानप्रदान गर्नेछन्।

७. स्वास्थ्य तथा चिकित्सा सेवा : स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रको विकास, सेवा विस्तार तथा प्राविधिक सहकार्यलाई अघि बढाउन दुवै देश सहमत भएका छन्।

८. पशुपालन तथा मत्स्यपालन : पशुपालन र मत्स्यपालन क्षेत्रको विकास, उत्पादन वृद्धि तथा प्रविधि आदानप्रदानका लागि नेपाल र भारतबीच सहकार्य हुनेछ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्