ट्रम्पको नयाँ ट्यारिफ प्रस्ताव : चीनसहित १४ देश प्रभावित हुने

Sagarmatha Post
Sagarmatha Post १० मंसिर २०८३, बिहीबार
3 Min Read
Aa

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिलाई थप कडा बनाउँदै अमेरिका आयात हुने विदेशी वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने प्रस्ताव अघि सारेका छन्। प्रस्तावित शुल्कबाट चीन, युरोपेली संघ (ईयू), जापान, दक्षिण कोरिया, भारतसहित १४ देश तथा क्षेत्र प्रभावित हुने भएका छन्।

प्रस्तावअनुसार चीनबाट आयात हुने वस्तुमा सबैभन्दा बढी ४० प्रतिशतसम्म र भियतनामबाट आयात हुने वस्तुमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने तयारी गरिएको छ। त्यस्तै, अन्य प्रभावित देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा २० देखि २५ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ।

नयाँ शुल्कको सूचीमा चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारत रहेका छन्। यसअघि भएका व्यापारिक सहमतिका कारण केही देशका हकमा प्रस्तावित शुल्कदर व्यवहारमा कम हुन सक्ने बताइएको छ।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ ट्यारिफलाई अवैध ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चदेखि विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान थालेको थियो। सोही अनुसन्धानका आधारमा अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) ले ती देशका व्यापार नीतिले अमेरिकी वाणिज्य क्षेत्रमा पारेको प्रभावबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै नयाँ शुल्क प्रस्ताव अघि सारेको हो।

यूएसटीआरका प्रमुख जेमिसन ग्रिरले प्रस्तावित शुल्कले अमेरिकी कामदारलाई समान प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै विश्व अर्थतन्त्रलाई दिगो दिशातर्फ लैजान सहयोग गर्ने दाबी गरेका छन्। उनका अनुसार दशकौँदेखि व्यापारिक साझेदारहरूले उत्पादन क्षेत्रलाई लक्षित गर्ने, ज्याला दबाउने र बजारलाई विकृत बनाउने नीतिहरू अपनाउँदा अमेरिकी उत्पादन आधार कमजोर बनेको छ।

तर, अर्थशास्त्रीहरूले नयाँ ट्यारिफ नीतिले अमेरिकी बजारमा मुद्रास्फीतिको दबाब बढाउन सक्ने चेतावनी दिएका छन्। आयातित वस्तुको लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्न सक्ने र यसले दैनिक उपभोग्य वस्तुलगायत विभिन्न सामानको मूल्य वृद्धि गराउन सक्ने उनीहरूको भनाइ छ।

त्यस्तै, नयाँ शुल्कले अन्तर्राष्ट्रिय व्यापारको प्रवाह संकुचित गर्नुका साथै विश्व अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्न सक्ने अर्थशास्त्रीहरूको चिन्ता छ।

प्रस्तावित भन्सार शुल्क तत्काल लागू हुने छैन। सार्वजनिक परामर्श र सम्भावित सुनुवाइका प्रक्रिया पूरा भएपछि मात्र आगामी वर्षदेखि कार्यान्वयनमा आउन सक्ने बताइएको छ।

नयाँ ट्यारिफ कार्यान्वयनमा आएमा अमेरिकासँग ठूलो व्यापारिक कारोबार गर्ने देशहरू प्रभावित हुनेछन्। यसले अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा थप तनाव सिर्जना गर्नुका साथै विश्व व्यापार व्यवस्थामा नयाँ चुनौती खडा गर्न सक्ने देखिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्