बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई समावेश गरिएको भन्दै प्रतिपक्षको विरोध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् ।

पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको बैठकको सुरुमै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गर्न थालेपछि सभामुखले नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभयो ।

प्रमुख सचेतक गिरीले करका दरहरु परिवर्तन गर्ने कार्यमा त्यस्ता व्यक्तिहरुलाई राखेर व्यापारिक घरानालाई लाभ हुने गरी काम भएको पाइएकाले सदनमा अर्थमन्त्रीले यसमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले करका दर परिवर्तन हुने सूचना चुहाएर रातारात ठूलो सङ्ख्यामा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाल ल्याइएको आरोप लगाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले गत वर्षको बजेट निर्माणका समयमा यस्तै घटना भएपछि तत्कालीन अर्थमन्त्रीले राजीनामा दिएको सन्दर्भमा उल्लेख गर्दै नीतिगत भ्रष्टाचारको डरलाग्दो जालो तोड्नुपर्ने बताउनुभयो ।

उहाँले अपारदर्शीरुपमा करका दर परिवर्तन गरिएको हो कि होइन ? भन्ने विषयमा स्पष्ट जवाफ दिन माग गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विधि र प्रक्रिया मिलाएर भ्रष्टाचार गरिएको सुनिएकाले जेठ १४ गते राति आर्थिक विधेयकलाई अन्तिम रुप दिने कार्यमा अर्थ मन्त्रालयमा असम्बन्धित व्यक्ति समावेश भएको हो कि होइन भन्ने प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्