भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर आज नेपाल आउँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ पुष २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर आज नेपाल आउँदै हुनुहुन्छ । यो उहाँको दोस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ विदेशमन्त्रीमा नियुक्त भएलगत्तै सन् २०१९ मा नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँ आज बिहान काठमाडौँ उत्रनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्रीको नेतृत्वमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित संयुक्त आयोगको बैठक आयोजना हुँदै छ । नेपाल भ्रमणको अवसरमा भारतका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुने छ । उहाँले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गर्दै दुई देशको परराष्ट्र सम्बन्ध र सरकारको धारणा आदानप्रदानबारे छलफल गर्नुहुने छ । सोही अवसरमा संयुक्त आयोगको बैठकमा गरिने कार्यसूचीबारे उहाँहरूले आफ्ना धारणा आदानप्रदान गर्नुहुने मन्त्रालयले जनाएको छ । मन्त्री साउदले भारतका विदेशमन्त्रीसहित सम्पूर्ण प्रतिनिधिमण्डलका लागि रात्रिभोजको आयोजना गर्नुहुने छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध आयामका साथै विकास साझेदारीको समीक्षा गरिने छ । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार यो बैठकमा दुई देशबिच विद्युत् व्यापार दुईदेशीय तथा बङ्गलादेशसँग हुने समझदारीका लागि त्रिदेशीय समझदारीमा महत्त्वपूर्ण सहमति हुने छ । उहाँका अनुसार नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन परियोजनामा सम्झौता हुने छ । संयुक्त आयोगको बैठकमा द्विपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा सहमति र समीक्षा गरिए पनि नसक्ने र नहुने कुरामा नेपालले जोड दिन नहुने पूर्वराजदूत दिनेश भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array