काठमाडौं, वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शासन सत्तामा बसेकाहरुबाट नै संविधान र कानुन मिच्ने प्रवृत्ति बढेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले बद्लिदो राजनीतिक परिस्थितिका बारेमा दलका नेताहरुसँग गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकहरुले संविधान र कानुन नमान्ने प्रवृत्ति समस्याको रुपमा देखापरिरहेको बताएका हुन् । सर्वसाधारण जनताले संविधान र कानुनको अक्षरस पालना गरेपनि नेता र शासकहरुले कानुन नमानेको उनको दाबी छ ।
‘नेपालमा संविधान र कानुन मान्ने प्रवृत्ति भएन । नेपालमा संविधान र कानुन नमान्ने प्रवृत्ति भयो । जनताको तहबाट होईन । जनताको तहबाट कसैले संविधान र कानुन मिच्यो भने त्यसको उपचार हुन्छ । त्यसले दण्ड सजाय भोग्नुपर्छ । शासनमा बसेका र राजनीति गर्नेहरुबाट संविधान र कानुनको उल्लङ्घन भयो भने त्यसको उचार हुँदैन । त्यही हो दण्डहिनता भनेको । आज त्यही समस्या मुलुकले भोग्दैछ,’– उनले भने ।
जनयुद्ध, जनआन्दोलन लगायतका परिवर्तनहरु यिनै राजनीतिक खेलाडीहरुले सहमति गरेर अगाडि बढेको स्मरण गराउँदै उनले नेताहरुमा हामीले सहमति गरेपछि जे पनि हुन्छ भन्ने भाष्य निर्माण भएको बताए । उनले अहिलेको सरकार परिवर्तनको मूल कारण भ्रष्टाचारको ढाकछोप रहेको उनले बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा रहेको प्रावधानलाई अनेक किसिमका तर्क गरेर प्रावधानहरु हातमा लिएको आरोप लगाए ।
‘अहिलेको सरकारको परिवर्तन पनि भ्रष्टाचार र फाइलसँग सम्बन्धित छ भन्ने कुरा आइराखेको छ । अहिलेको राष्ट्रपतिले पनि संविधानमा भएको व्यवस्थालाई विभिन्न किसिमका तर्कहरु गरेर संविधानको प्रावधानलाई हातमा लिइँदैछ । यो गलत हो,’– उनले भने ।
शासकले संविधान र कानुन नमान्ने अवस्थामा अब विद्रोहको रुपमा परिणत हुने उनको चेतावनी छ । देश र जनतालाई केन्द्रविन्दुमा राखेर बनेको संविधानको उद्देश्यलाई परिपूर्ति गर्न अहिलेको सरकार नबनेको उनको दाबी छ । संविधानमा भएका कुराहरु अक्षरस पालना गर्दिँदा मात्रै पनि देशमा भएका समस्याहरु क्रमशः समाधान हुँदै जाने सम्भावना रहेको उनले बताए । देशको शिक्षा, स्वास्थ्य, अर्थतन्त्रलगातका संरचना डनहरुले चलाएको उनको टिप्पणी छ ।
‘नेपालको वर्तमान राजनीतिक प्रणाली र संविधान छ, संविधानमा लेखिएको कुरामात्रै गर्दिएको भए केही थिएन नि त । संविधानमा शिक्षा निःशुल्क भन्यो । गर्नसक्छन् निःशुल्क ? ठूला–ठूला डनहरुले चलाएका छन्, तिनै डनहरु मन्त्री बनिसके,’– उनले भने ।
उनले दशकौंदेखि देश चलाउने शासकहरुको गलत प्रवृत्तिका कारण जनताले दुःख पाइरहनुपरेको बताए । संविधान सभा सदस्यसमेत रहेको भण्डारीले संविधान मिचेर ७६ (२) बमोजिम सरकार गठनको आह्वान गरिएको दाबी गरे । संविधानको धारा ७६ (२) अनुसार बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत नपाउँदैगर्दा उपधारा ३ आकर्षित हुने उनको दाबी छ । ‘निवर्तमान सरकार दुई वा दुईभन्दा बढी दलको सहमतिले बनेको सरकार हो । त्यसले बहुमत पाएन भने सोझो कुरा छ, संविधानको धारा ७६ (३) मा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछ भन्ने व्यवस्था छ । त्यो भएन,’– उनले भने ।
प्रचण्ड सकारको उथलपुथलले कांग्रेस–एमालेको गठबन्धन बन्योः देवेन्द्रराज कडेल
काठमाडौं, २९ असार । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री देवेन्द्रराज कडेलले निवर्तमान सरकारको उपलपुथलका कारण व्यवस्थामाथि नै जनताले प्रश्न उठाउने परिस्थिति निर्माण भएकाले दुई ठूला दल मिल्नुपरेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले बद्लिदो राजनीतिक परिस्थितिका बारेमा दलका नेताहरुसँग गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेको विचार नमिले पनि जनतामा बढेको व्यवस्थामाथिको वितृष्णालाई सम्बोधन गर्न आफूहरु यो निर्णयमा पुगेको बताएका हुन् । उनले निवर्तमान सरकारमा नयाँ दलहरु सहभागी भएर उनीहरुले केही गर्न नसकेको बताए ।
‘नेपाली कांग्रेसको र एमालेको विचार पूर्व र पश्चिमजस्तै हो । हाम्रा विचार मिल्दैन । नमिल्दैगर्दा पनि विगतको सरकारको उथलपुथल र परिवर्तनले गर्दाखेरी आम जनताले यो सिस्टममाथि प्रश्न उठाउन लागेका छन् । केही नयाँ दलहरुले अवसर पाए, हामीले सरकारमा उनीहरुको पनि अनुहार देख्यौं,’– उनले भने ।
पछिल्लो समय आर्थिक मन्दीले गर्दा हरेक व्यक्तिहरु चपेटामा रहेको उनले बताए । आर्थिक मन्दीको पचेटा विकराल रहेको बेला सहकारीबाट जनता झनै प्रताडित हुन्ुपरेको उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लिक्षित गर्दै सहकारीको रकम ठूलोमात्रामा हिनामिना गर्ने व्यक्तिसमेत सत्तामा पुगेको टिप्पणी गरे ।
नेपालमा विश्वकै उत्कृष्ठ संविधान बनेपनि लागू गर्ने क्रममा समस्या आएको बताए । विचार नमिल्दैगर्दा पनि संविधानमा देखिएका समस्या समाधानका लागि कांग्रेस–एमाले मिल्नुपरेको उनले बताए । ‘आफ्नै कम्युनिष्ट शक्तिसँग मिल्न नसक्ने राजनीतिक दलहरु आज लोकतान्त्रिक शक्तिसँग किन मिल्न गइराखेका छन् ? वा लोकतान्त्रिक शक्तिले पनि वामपन्थी शक्तिलाई लिएर किन सत्तामा जान परिरहेका छ ? किनभने हाम्रो निर्वाचन प्रणाली यस्तो भइदियो, हामीले संसारको उत्कृष्ट संविधान बनायौं । तर, आज व्यवहारमा लागू गर्दैगर्दा त्यहाँ पनि कमीकमजोरी देखियो,’– उनले भने ।
समानुपातिक, समावेशी निर्वाचन प्रणाली राम्रो उद्देश्यसहित संविधानमा व्यवस्था गरिएको दाबी गर्दै उनले त्यसको दुरुपयोग भएको बताए । नेता कडेलले नेताहरुले गणेश प्रवृत्तिका व्यक्ति, आफ्नो परिवार र नातागोताका व्यक्तिहरुलाई समानुपातिको सिटबाट ल्याउन थालेको बताए । यस्तो प्रवृत्तिले व्यवस्थामाथि नै प्रश्न उठ्नेगरेको उनको भनाइ छ । कांग्रेस–एमालेको गठबन्धनमा बन्ने सरकारले संविधान संशोधन गरेर निर्वाचन प्रणालीलाई व्यवस्थित बनाउने उनको दाबी छ । ‘अब यो संविधानलाई केही परिमार्जन गर्छौ । निर्वाचन प्रणालीलाई केही व्यवस्थित गर्छौं भनेर अहिले यो गठबन्धन भएको हो,’– उनले भने ।
कांग्रेस–एमाले गठबन्धन सरकारले गिरीबन्धु, भुटानी शरणार्थीदेखि सबैखाले आर्थिक अनियमितताको फाइल खोल्न सक्नुपर्ने उनको भनाइ छ । उनले यसो गर्न नसकेको खण्डमा कांग्रेस–एमाले गठबन्धनको सरकारमाथि प्रश्न उठ्ने उनले बताए । कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नेवित्तिकै आफ्नै घरपरिवारलाई च्याप्ने, असफल भएकाहरुलाई मन्त्री बनाउने काम भयो भने राम्रो नहुने उनको भनाइ छ ।
‘चाहे गिरीबन्धु टी स्टेटका कुरा होस्, चाहे भुटानी शरणार्थीका कुरा होस्, या भ्रष्टाचारसँग सम्बन्धित जे कुराहरु उठेका छन्, यो सरकारले त्यो फाइलहरुलाई अगाडि बढाएन भने प्रश्नचिन्ह उठ्छ । आमी ती फाइलहरुलाई अगाडि बढाउनेगरी दोषीलाई कारबाही गर्नुपर्छ,’– उनले भने ।
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई दोहोरो नागरिकता र दोहोरो पासपोर्टमा उन्मुक्ति दिइएको बताए । सहकारी ठगी प्रकरणमा उन्मुक्ति खोज्न उनी गृहमन्त्री बनेको नेता कडेलको दाबी छ ।
‘तपाईँ हामी कोही भएको भए दोहोरो नागरिकतामा जेल जानुपथ्र्यो । दोहोरो पासपोर्टमा थुनामा जानुपथ्र्यो । आज सहकारीको विभिन्न ठाउँमा आर्थिक अपचलन भयो । धेरै जना थुनामा परिराखेका छन् । जुन व्यक्तिले अब सरकारमा जाँदैनौं भन्यो, फेरि किन गृह मन्त्रालय नै चाहियो ? गृहमन्त्रालय कस्तो हो भने जतिपनि आपराधिक क्रियाकलापहरु छन्, अनियमितता र भ्रष्टाचारहरु त्यो फाइल खोल्न र दवाउन सहज ठाउँ हो,’– उनले भने ।
कांग्रेस–एमाले नेतृत्वको सरकारले सहकारीसँग सम्बन्धित माफियाहरु सबैलाई जेल पठाउने उनको दाबी छ । उनले अहिले गृहमन्त्री लामिछानेलाई जति पीडा अहिले कसैलाई पनि छैन भन्ने कुरा हिजो सदनमा दिएको अभिव्यक्तिबाट पुष्टि भएको बताए ।


प्रतिक्रिया दिनुहोस्