बारामा , बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतसहित तीन जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । गत पुस ६ गते बाराको सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बा मृत भेटिएका थिए । लगत्तै अनुसन्धानका लागि खटिएको टोलीले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको संलग्नता फेला परेसँगै उनी पक्राउ परेका हुन् । उक्त कार पनि अधिकृत तिवारीको भएको खुलेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी महेन्द्र खड्काले बताए ।
तिवारी महोत्तरी जलेश्वर नगरपालिका – ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत थिए । बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ घर भई हाल सोही स्थानमा जय माँ इन्जियरिङ वर्कसप चलाउँदै आएका २७ वर्षीय पुरुषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहानलाई पनि प्रहरीले सोही घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेको छ ।
उनीहरुको साथबाट पुरुषोत्तम कुमार दासको वर्कसपबाट उनले लगाउने गरेको जिन्स पाइन्टको खल्तीबाट रुम्बाले घाटीमा लगाएको सुनको सिक्रि १ थान बरामद गरेको छ । साथै दासको कालो रंगको क्याट लेखिएको झोला भित्रबाट रुम्बाको पर्स बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट ६ थान मोवाइल दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल थान १ बरामद गरेको एसपी खड्काले बताए । प्रहरीका अनुसार, रुम्बालाई गोली हानेर हत्या गरिएको खुलेको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्