विश्व पुस्तक बजारमा पुस्तक आयात निर्यात गर्ने बाटो खुला

Sagarmatha Post
Sagarmatha Post २१ पुष २०८१, आईतवार
3 Min Read
Aa

काठमाडौँ । भाषिक समस्याका कारण नेपाली भाषामा लेखिएका राम्रा पुस्तकहरू अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेका छैनन् भने विश्व साहित्यमा लेखिएका चर्चित कृतिहरू अधिकांश नेपाली पाठकले पढ्न पाएका छैनन् । नेपाली साहित्यमा भित्रिएको उत्तरआधुनिकतावाद र विनिर्माणका शैलीमा लेखिएका कतिपय काव्य तथा आख्यान कृतिहरू विश्वमै उत्कृष्ट पनि ठहरिन सक्छन् तर त्यसलाई अन्तर्राष्ट्रिय पाठकसम्म अझै पुर्‍याउन  सकिएको छैन ।

नेपाली साहित्यका पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्व पुस्तक बजारमा निर्यात गर्न र विश्व साहित्यमा लेखिएका पुस्तकहरू नेपाली भाषामा अनुवाद गरी पाठकसम्म पुर्‍याउन काठमाडौँमा आयोजना गरिएको दोस्रो दक्षिण एसियाली पुस्तक प्रदर्शनी महत्पूर्ण माध्यम बनेको छ । पुस्तक प्रदर्शनीमा सहभागी हुन आएका चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलङ्का, क्यानडा, बङ्गलादेश, अमेरिकालगायत १३ देशका लेखक तथा प्रकाशबिच भएको विमर्शले विश्व पुस्तक बजारमा पुस्तक आयात निर्यात गर्ने बाटो खुला गरेको छ ।

विभिन्न देशका लेखक तथा प्रकाशक सस्थाहरुबीच कपी राइट किनबेच गर्न सकिने विषय उठान हुँदा नेपाली लेखन तथा प्रकाशनमा नयाँ आयाम थपिएको छ । प्रदर्शनी आयोजना गर्ने संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका महासचिव विष्णुप्रसाद पौडेल नेपालमा पहिलोचोटी उठान भएको यो विषयले पठन संस्कृतिको विकास सँगै विश्वबजारमा कृतिहरू आयात निर्यात गर्ने ढोका खुुलेको बताउनुुहुुन्छ । उहाँका अनुसार पठन संस्कृतिको विकासका लागि युवा पुस्तामा नयाँ पुस्तक सहज रुपमा पुर्‍याउन सकिएको छैन ।

पछिल्लो पुस्तका अङ्ग्रेजीमा पुस्तक खोजी गर्ने हुँदा त्यस्ता पाठक केन्द्रित विश्वबजारका पुस्तकहरू आधिकारिक रूपमै प्रकाशन गर्न सकिने वातावरण महत्वपूर्ण हो । पुस्तक पठन सचेत पाठकका लागि एक प्रकारको लत हो । पठन लत बसेका पाठकहरू बजारमा आएका नयाँ पुुस्तकहरु कुनै न कुनै माध्यमबाट पढ्न रुचाउँछन् । प्रविधिको विकासले सूचनाको पहुँचमा पुगेका त्यस्ता पाठकहरूदेखि  पुराना पुस्ताका पाठकहरूसमेत नयाँ पुराना पुस्तकहरू खोजेर पढ्न रुचाउने गरेका छन् ।

प्रकाशन तथा अनलाइनबाट पुस्तक विक्री गर्दै आएको  किताब किरो प्रकाशनकी अध्यक्ष सुशिला पौडेल पछिल्लो पुस्ताका पाठकहरू अङ्ग्रेजीमा लेखिएको पुस्तक खोजी गर्ने बताउनुहुन्छ । नयाँ पुस्तामा प्रविधिका माध्यमबाट पठन संस्कार विकास भएको पाइए पनि पुराना पुस्ताका पाठक भने नेपालीमै पुस्तक खोजी गर्ने किताब किरो प्रकाशनकी अध्यक्ष पौडेलको अनुभव छ । नेपाल र अन्तर्राष्ट्रिय प्रकाशकबिच कपी राइट खरिदविक्री र आयात निर्यातका लागि उचित मञ्चका रुपमा सफल भएको दोस्रो पुस्तक प्रदर्शनीमा भेटिएका  डाक्टर सुरेश ढकाल नेपाली लेखकहरूलाई विस्तारित हुन कपीराइट खरिदविक्री महत्वपूर्ण हुने बताउनुुहुुन्छ । उहाँ यस प्रकारको सहकार्यले नेपाली लेखकलाई विश्वमा चिनाउन मद्दत गर्ने बताउनुुहुुन्छ । पहिलोचोटी आयोजना भएको प्रतिलिपि अधिकार किनबेचको विमर्शले विश्वका साहित्य समेत नेपाली भाषामा प्रकाशन गर्न सकिने बाटो खोलेको छ ।

लेखकहरू समाजका अगुवा हुन् । उनीहरूले देख्ने समाज र आम मानिसले देख्ने समाज फरक हुन सक्छन् । विश्व साहित्यमा पछिल्लो समयमा मौलाएको लेखन शिल्प र पद्धति एवम् प्रवृत्तिबारे थाहा पाउन लेखकीय तथा प्रकाशकीय सम्बन्धहरू अन्तर्राष्ट्रिय रुपमा विस्तार हुनु जरुरी छ । विश्वभरिका स्रष्टा र पाठक एवम् प्रकाशकबिच सम्बन्ध र सहकार्य विस्तारबाटै पुस्तकीय सम्बन्ध बलियो बनाउन सक्नेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्