काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । साथै उहाँहरूले अछामको ढकारी गाउँपालिकामा केही दिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले घटनामा संलग्नलाई  कारबाही गर्न माग गर्नुभयो ।

सांसद गङ्गाकुमारी बेल्बासेले अछामको ढकारी गाउँपालिकामा सरस्वती खड्का र ईश्वरी खड्काको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शारदादेवी भट्टले किशोरीको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु तथा दिनप्रतिदिन महिला हत्याको घटना बढ्नु विडम्बना भएको बताउनुभयो ।सांसद गोपीबहादुर सार्की अछामीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा २२ वर्षीय दिनेश विक प्रेमिकालाई भेट्न जाँदा गाउँलेले कुटपिट गरेर हत्या गरेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।

सभाका अर्का सदस्य जगप्रसाद शर्माले स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक हक कार्यान्वयन गर्न खानेपानी वितरण प्रक्रियामा लाग्दै आएको विद्युत् महसुल मिनाहा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तारामान स्वाँर, मायाप्रसाद शर्मा र तुलसाकुमारी दाहालले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि सङ्घीय सरकारले ध्यान दिनुपर्ने, जाजरकोट भूकम्पबाट प्रभावितका  आवास पुनः निर्माणमा ढिलाइ हुन नहुने तथा संविधानको भावनाअनुसार कानुन निर्माण गर्न सङ्घीय संसद्को चालु अधिवेशन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button