बारा, बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ ।बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगन्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।पथलैया–सिमरा–वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिको समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगन्ज १३२/६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरण जडान भइसकेका छन् । अमलेखगन्ज सबस्टेसनलाई आगामी जेठको दोस्रो साता (मे २०२५)भित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका काम भइरहेका छन् ।
पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगन्ज सबस्टेसनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ । त्यस्तै, हेटौँडाबाट सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौँडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो । ६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्तिको स्रोत हुने र अमलेखगन्ज सबस्टेसन सञ्चालनमा आएपछि सिमरा–वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।
सबस्टेसनमा १३२/६६ केभी २०० एमभिए र ६६/११ केभी २० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहेका छन् । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ६ वटा फिडर रहनेछन् । प्रसौनी तथा वीरगन्ज सबस्टेसन र उक्त सबस्टेसन जोड्ने २.८ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ ।
भूमिगत प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्ने गरी काम भइरहेको छ । सबस्टेसनमा उपकरण जडान र बाँकी रहेका सिभिल संरचनाहरुको काम जारी छ ।
भारत र नेपालबीचको रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनलाई प्रसौनी सबस्टेसनमा लुप इन र लुप आउट गरिनेछ । उक्त सबस्टेसनबाट भूमिगत प्रसारण लाइनमार्फत वीरगन्ज सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ । हाल वीरगन्जमा चालु रहेको ६६/३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाउन लागिएको हो ।
सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न भएपछि वीरगन्ज क्षेत्रमा विद्युत आपूर्तिका लागि १३२ र ६६ केभीको स्रोत हुनेछ । १३२ र ६६ केभी सबस्टेसन अन्तरआबद्ध हुने भएकाले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउनेछ ।
हाल बाराको कलैया क्षेत्रमा पनि वीरगन्ज सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएकोमा प्रसौनी सबस्टेसन सम्पन्न भएपछि त्यहीँबाट आपूर्ति दिइनेछ । यसबाट वीरगन्ज सबस्टेसनको भार पनि घट्नेछ । प्रसौनी सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभी र ११ केभीका ५/५ वटा फिडर रहने व्यवस्था गरिएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायत क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रूपमा बनाउन लागिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए । वीरगन्ज क्षेत्रको विद्युत् माग एवम् आपूर्ति व्वस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्पूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेबार भएर निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्