इच्छाराज तामाङलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर

Sagarmatha Post
Sagarmatha Post ५ जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं । सिभिल सहकारीका सञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । यसअघि विशेष अदालतले तामाङलाई दोषी ठहर गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो ।

विशेष अदालतको उक्त फैसलाविरुद्ध तामाङले सर्वोच्च अदालतमा पुनरावलोकनको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउने निवेदन दिएका थिए । तर, सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेष अदालतको फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने ठहर गर्दै कानुनअनुसार अघि बढाउन आदेश दिएको छ ।

त्यसैगरी, संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि तामाङलाई थुनामा राख्ने विशेष अदालतको आदेशलाई सर्वोच्चले यथावत् राख्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले तल्लो अदालतको आदेशविरुद्ध तामाङद्वारा गरिएको निवेदनमा कानूनबमोजिम गर्नू भनी आदेश दिँदै उनलाई थुनामै राख्ने व्यवस्था कायम राखेको हो ।

तामाङले गत माघको तेस्रो साता सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । उनीमाथि सिभिल सहकारीका हजारौं बचतकर्ताको रकम हिनामिना गरेको ‍आरोप लागेको छ । २०८० माघ २१ गते विशेष अदालतले तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ पैसा जरिवाना तोकिएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्