आईसीसीले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण नियम परिवर्तन

Sagarmatha Post
Sagarmatha Post १ असार २०८२, आईतवार
2 Min Read
Aa

 काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण नियम परिवर्तन गर्दै एकदिवसीय खेलमा प्रयोग हुने दुई बलको नियममा संशोधन गरेको छ। साथै, टेस्ट, एकदिवसीय र टी–२० गरी तीनै ढाँचामा ‘कन्कसन-सब्स्टिच्युट’ (चोटग्रस्त खेलाडीको विकल्प) को नयाँ नियम पनि अनिवार्य गरिएको छ। यी दुवै नियमहरू टेस्टमा जुन १७, एकदिवसीयमा जुलाई २ र टी–२० मा जुलाई १० देखि लागू हुनेछन्।

एकदिवसीयमा बल प्रयोगको नयाँ नियम

हाल एकदिवसीय क्रिकेटमा एक इनिङ्सका लागि दुई नयाँ बल प्रयोग गरिन्छ, जसमा प्रत्येक छेउबाट फरक–फरक बल प्रयोग हुन्छ। तर संशोधित नियमअनुसार, अब दुई बल केवल ३४ ओभरसम्म मात्र प्रयोग गर्न पाइनेछ।

३५ औं ओभरदेखि ५० औं ओभरसम्म बलिङ गर्ने टोलीले ती दुई बलमध्ये एउटा मात्र छानेर दुवै छेउबाट त्यही बल प्रयोग गर्नुपर्नेछ। आईसीसीले यो परिवर्तनको उद्देश्य ब्याट र बलबीचको सन्तुलन कायम गर्नु रहेको जनाएको छ।

यदि पहिलो इनिङ्स सुरु हुनुअघि नै खेल प्रतिसाइड २५ ओभर वा सोभन्दा कममा घटाइन्छ भने बलिङ टोलीले इनिङ्सभरि एउटामात्र नयाँ बल प्रयोग गर्न पाउनेछ।

कन्कसन-सब्स्टिच्युट सम्बन्धी नयाँ नियम

नयाँ कन्कसन प्रोटोकल अन्तर्गत अब प्रत्येक टोलीले खेल सुरु हुनु अघि नै म्याच रेफ्रीलाई निम्न पाँच फरक भूमिकामा प्रतिस्थापन खेलाडीहरूको नाम पेस गर्नुपर्नेछ:

  • एक विकेटकिपर
  • एक ब्याटर
  • एक सिम बलर
  • एक स्पिन बलर
  • एक अलराउन्डर

यस वर्ष जनवरीमा भारतले इंग्ल्यान्डविरुद्धको चौथो टी–२० खेलमा ब्याटिङ अलराउन्डर शिवम दुबेको स्थानमा बलिङ अलराउन्डर हर्षित रानालाई कन्कसन सब्स्टिच्युटको रूपमा मैदानमा उतारेको थियो। रानाले ३३ रन दिएर ३ विकेट लिएका थिए। तर, उनको ‘लाइक–फर–लाइक’ सब्स्टिच्युट मान्यता विवादास्पद बनेको थियो।

नयाँ नियम अनुसार, पूर्वनिर्धारित भूमिकाका आधारमा प्रतिस्थापनको सूची पेस गर्नु परेपछि यस्ता विवादहरू न्यून हुने अपेक्षा गरिएको छ। यदि प्रतिस्थापन खेलाडीलाई पनि कन्कसन भयो भने, म्याच रेफ्रीले पूर्वनिर्धारित सूचीबाहेकबाट पनि ‘लाइक–फर–लाइक’ (उस्तैको बदला उस्तै) सन्दर्भमा अर्को खेलाडी चयन गर्न सक्नेछन् ।

क्याचको नियममा पनि परिवर्तन

यसका साथै, क्याचसम्बन्धी नियममा पनि सानो तर महत्त्वपूर्ण परिवर्तन गरिएको छ। एमसीसी ले बाउन्ड्री लाइन बाहिरबाट गरेर मैदानमा फर्किएर लिइने ‘बनी हप’ शैलीका क्याचहरूलाई अब अमान्य ठहर गरेको छ।

यो परिवर्तनले खेलको निष्पक्षता र स्पष्टता बढाउने आईसीसीको विश्वास छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्