भियतनामका उपराष्ट्रपति सँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको शिष्टाचार भेटवार्ता

Sagarmatha Post
Sagarmatha Post ७ भाद्र २०८२, शनिबार
1 Min Read
Aa
काठमाडौँ, ७ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग शनिबार परराष्ट्र मन्त्रालयमा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनले शिष्टचार भेटवार्ता गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गर्नुभएको हो ।भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरूमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्न सक्ने धारणा राख्नुभयो ।

मन्त्री डा राणाले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिनुभयो । उहाँले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताउनुभयो । पछिल्ला वर्षहरूमा नेपाल र भियतनामका पर्यटकहरूको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्