फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको आग्रह

Sagarmatha Post
Sagarmatha Post २१ भाद्र २०८२, शनिबार
2 Min Read
Aa

ललितपुर,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गर्नुभएको हो  ।

अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गर्नुभयो । उक्त आग्रहप्रति हलमा तालीको समर्थन गरिएको थियो । अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरु पर्चामार्फत् शुक्रबार हलमा वितरण गर्नुभएको थियो ।

शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तवेज प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले आज दिनभर छलफल गर्नेछन् ।

समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ । रासस 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्