काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि समय निर्धारण

Sagarmatha Post
Sagarmatha Post २७ भाद्र २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ।पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ ।नेपाली सेनाले विज्ञप्तिमार्फत निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरुबाट सो व्यवस्था गरिएको जनाएको छ ।

जारी विज्ञप्तिमा भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते विहान ६ बजेसम्म कर्फ्यू लाई निरन्तरता दिइएको उल्लेख छ । यसैगरी अत्यावश्यक कार्यको लागि आवतजावत गर्न भदौ २७ गते विहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म निर्धारण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निषेधाज्ञा तथा कफ्र्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चारप्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिनेछ ।विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्थालगायतका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचय पत्र (डिजिटल बाहेक) देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

यस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले सबैमा अनुरोध गरेको छ ।काठमाडौँ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरुप जिल्ला सुरक्षा समितिबाट निर्णय र समन्वय गरिएबमोजिम हुने उल्लेख छ । जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीहरुको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुर्‍याउन सबैमा अपिल गरिएको छ ।

अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने भनि छुट्याइएको समय अत्यावश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरु आफ्नो कार्यस्थलसम्म जान र फर्कनलगायतका जरुरी कामका लागि भएकाले उक्त समयमा समेत जुलुस, धर्ना, प्रदर्शनलगायतका गतिविधिहरु गर्न पूर्णतः निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्