काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको नयाँ भवनमा पदभार ग्रहण गर्नुहुँदै जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरूलाई शहीद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । त्यसैगरी आन्दोलनमा मृत्यु भएका प्रत्येकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णयमा पनि प्रधानमन्त्री कार्कीले हस्ताक्षर गर्नुभयो । पदभार ग्रहण गरेपछि नवनियुक्त प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले मुलुकको अत्यावश्यक संस्थाका कागजातहरू जलाउनु दुःखद भएको भन्दै राज्यका महत्वपूर्ण सम्पत्ति जलाउनेहरूमाथि अनुसन्धान गरी कडा कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो ।
सडकबाट जेनजी युवाहरूको मागले आफू जिम्मेवारीमा आएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन गरी नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्धता रहेको बताउनुभयो प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडका घटना सुनियोजित र लामो तयारीका साथ गरिएको हुन सक्ने बताउनुभयो । जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, व्यापारिक केन्द्रलगायतका देशैभरका सम्पत्तिमाथि भएको आगजनी लज्जास्पद भएको पनि बताउनुभयो । त्यसअघि प्रधानमन्त्री कार्कीले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्