आजदेखि  सरकारले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गर्दै

Sagarmatha Post
Sagarmatha Post ३० भाद्र २०८२, सोमबार
2 Min Read
Aa

दसैँसहित चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गर्दैछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्ला र साल्ट ट्रेडिङ कर्पोरेशनले २९ जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउन लागिएको हो।

देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने कम्पनीले जनाएको छ। खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न सक्नेछन्। कम्पनीले उपत्यकामा देशका ४५ जिल्लाको १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो। कम्पनीका सहुलियत मूल्य पसलबाट प्रतिकेजी/प्रतिलिटरमा पाँचदेखि १० रुपियाँसम्म छुट हुने बताइएको छ।

कम्पनीका त्यस्ता सहुलियत पसलमा दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तु बिक्री हुनेछ। विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ। त्यसैगरि तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी लगायतका खाद्यान्नमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी १० रुपियाँ छुट हुने छ।

काठमाडौँको थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, थापाथली, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिका, घुम्तीसेवासहित ४५ जिल्लाका १११ स्थानमा कम्पनीका बिक्री कक्ष राखिने छन्। खाद्य कम्पनीले चाडपर्वका बेलामा दुई करोड ५२ लाख रुपियाँ बराबरको खाद्यमा सहुलियत दिएमा सरकारबाट शोधभर्ना पाउन सक्ने छ। साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित देशभर ४२ स्थानमा सुपथ मूल्य सञ्चालन गर्ने छ।

उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा पसल चल्ने छन्। कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुुट दिने जनाएको छ।कर्पोरेसनका अनुसार काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल, स्वम्यभुका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ। त्योबाहेक माग आएका ठाउँमा तीन वटा मोबाइल भ्यानमार्फत पनि ती वस्तु उपलब्ध गराउने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिएका छन्।

उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका मागका आधारमा पनि सेवा दिन सकिने गरी तयारी गरिएकाे छ।  कर्पोरेसनका सहुलियत पसलबाट प्रतिव्यक्ति छ केजीसम्म नुन, दुुई केजी चिनी र त्यही परिणाममा खानेतेल, चामल, दाल र चिउरा उपलब्ध गराउने तयारी छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्