नारायणगढ–मुग्लिन सडक खण्ड गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन

Sagarmatha Post
Sagarmatha Post १० आश्विन २०८२, शुक्रबार
1 Min Read
Aa

चितवन ।  एक सातामा पटक पटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ । उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटक पटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो ।डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन भएको छ । तत्काल पहिरो झर्ने खालको अवस्था नरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो ।

“सानातिना पहिरो खस्दा सहजै सफा गर्न सकिने अवस्था छ । यसअघि नाम्सीमा दुई दिनअघि पहिरो खस्दा अड्किएका ढुङ्गा पनि खसेकाले पहिरोको तत्काल पहिरोको जोखिम देखिएको छैन । हाल सडक सुरक्षित देखिन्छ”, लामिछानेले भन्नुभयो,“यस सडकखण्डमा पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेको छ । तत्काल पहिरोको जोखिम नदेखिए पनि  पूर्ण भर गर्नसक्ने अवस्था नरहेकाले सावधानीपूर्वक आवतजावत गर्न हाम्रो आग्रह छ ।”प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति नै रोकिएका सबै सवारी गन्तव्यतर्फ पठाइएको बताउनुभयो । निकै मेहनतका साथ काम गरेकाले ठूलो पहिरो भए पनि सोचेभन्दा छिटो काम सकिएको भन्दै उहाँले हाल चितवन हुँदै आवतजावत गर्ने यात्रुका लागि सबै सडक सञ्चालन रहेको जानकारी दिनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्