सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको सुरक्षा निकायलाई निर्देशन

Sagarmatha Post
Sagarmatha Post १८ आश्विन २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्नुभई उहाँले उक्त निर्देशन दिनुभएको हो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षणपश्चात् यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहन उहाँले निर्देशन पनि दिनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्व तयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्यकता र भावी योजनालगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्