हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक, विपिन जोशीको नाम भने छैन

Sagarmatha Post
Sagarmatha Post २४ आश्विन २०८२, शुक्रबार
1 Min Read
Aa

इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु छन् ।

जीवित रहेका बन्धकहरूमा  २१ वर्षीय मतन अंग्रेस्त,२७ वर्षीय जिव बरम्यान, २७ वर्षीय गाली बरम्यान, ३४ वर्षीय एलकाना बोहबोट, २१ वर्षीय रोम ब्राजलव्स्की,२० वर्षीय निमरोड कोहेन,२७ वर्षीय गुए गिल्बोओ दलाल, ३६ वर्षीय माक्सिम हरकिन, ३८ वर्षीय एइटन हर्न, २७ वर्षीय सेगेव कालफोन, २३ वर्षीय बार कुपरस्टेन, ४७ वर्षीय ओमरी मिरन, २४ वर्षीय एइटन अब्राहम मोर, २४ वर्षीय योसेफ चेम ओहाना, २३ वर्षीय एलन ओहेल, ३१ वर्षीय एभिनाटन ओर र २५ वर्षीय माटन जंगुकर छन्। बाँकी रहेका २८ बन्धकमध्ये नेपालका विपिन जोशी र २० वर्षीय तामिर निम्रोडीको स्थिति अज्ञात रहेको भनेर सिएनएनले लेखेको छ।

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्