काठमाडौं जिल्ला अदालतमा आज पूर्वसभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस हुँदै

Sagarmatha Post
Sagarmatha Post २८ आश्विन २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आज पूर्वसभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस हुँदैछ। थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामै राख्ने भन्ने आदेश सुनाउनेछ। सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पक्राउ गरेको थियो। त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनलाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो।

८ करोडभन्दा बढीको बिगो र तीन वर्षभन्दा बढी कैद मागदाबी

महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी दर्ता गरिएको छ। उनीमाथि विद्युतीय चुरोट (भेप) मार्फत ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। २०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नं. FZ 0587 बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेसमा शंका लागेपछि भन्सारले जाँच गर्दा भेप (इ–सिगरेट) भेटिएको थियो। त्यसपछि भन्सारले भेप नियन्त्रणमा लिए पनि लि हानसोङ भने अर्को दिन नै देश छाडेका थिए।

पछि भेपमा सुन लुकाइएको सूचनापछि विमानस्थलका कर्मचारीले भेप साटेको शंकामा अनुसन्धान अघि बढेको थियो। २०७८ वैशाख २६ गते भन्सारले सीआईबीलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको थियो। करिब दुई महिनासम्मको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, महराका छोरा राहुल महरा र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा चलाइएको हो। पूर्वसभामुख महरा पनि सोही प्रकरणमा संलग्न रहेको आशंकामा सीआईबीले केही दिनअघि उनलाई बयानका लागि बोलाएको थियो। त्यसपछि अनुसन्धान विस्तार गर्दै आइतबार उनी पक्राउ परेका हुन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्