काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । राजनीतिक कोटामा फिर्ता बोलाइएका राजदूतहरू प्राय नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका तर्फबाट राजदूत भई जानेहरू रहेका छन् । मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारले फिर्ता बोलाका राजदूतहरूमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि नेपाली राजदूत प्रा। श्रीधर खत्री, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी छन् ।
त्यस्तै, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी), मलेसियाका लागि नेपाली राजदूत दिल्लीराज पौडेल, स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपाल, डेनमार्कका लागि नेपाली राजदूत रामस्वार्थ राय र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल रहेका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य १० निर्णयहरू
१) प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने।
२) लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
३) हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने।
४) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने।
५) मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने।
६) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने।
७) जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने।
८) जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने।
९) ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
१०) भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने।


प्रतिक्रिया दिनुहोस्