बाराको सिमरामा जेन–जी आन्दोलनका युवामाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा नेकपा (एमाले) का कार्यकर्ता अरविन्द साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीलाई बिहीबार साँझ पक्राउ गरिएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले पुष्टि गरेका छन्।यसअघि यही घटनामा संलग्न रहेर आरोप लागेका जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। दुवै जना एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।
सिमरामा जेनजी समूहका आन्दोलनकारीलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि घटना व्यापक रूपमा चर्चामा आएको थियो। त्यसपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै जिम्मेवार व्यक्तिहरूलाई क्रमशः पक्राउ गर्दै आएको हो। प्रहरीका अनुसार प्रत्यक्षदर्शी बयान, भिडियो प्रमाण र स्थानीयबाट प्राप्त सूचनाका आधारमा थप व्यक्तिको संलग्नता पनि अनुसन्धान भइरहेको छ। घटना सम्बन्धी थप विवरण सार्वजनिक गर्न प्रहरीले तयारी गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्