अनधिकृत बन्द–हड्ताल विरुद्ध नरैनापुरकाे कडा चेतावनी: ‘जनतालाई दुःख दिन निन्दनीय’

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८२, शुक्रबार
4 Min Read
Aa

महमूद आलम खान

बाँके । पछिल्लो समय शिक्षा क्षेत्रमा अनियमितता र माफिया करण विरोधी आन्दोलनको नाममा सामाजिक सञ्जालमार्फत अनधिकृत बन्द–हडतालका सूचना फैलिन थालेपछि नरैनापुर गाउँपालिकाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बिहीबार जारी गर्नु भएको विज्ञप्तिमा बिना पूर्वसूचना, कानुनी प्रक्रिया र संवादबिना गरिएको हडताललाई अवैध, गैरजिम्मेवार र समाज विरोधी भन्दै कडा शब्दमा आलोचना गर्नु भएको छ ।

अध्यक्ष शाहले विद्यालयका बालबालिकालाई पोशाकमै सडकमा उतारिएको दृश्यलाई अत्यन्त दुःखद, निन्दनीय र नैतिक–कानुनी दुवै आधारमा अपराधसरहको कृत्य बताउनु भयो। यस्ता गतिविधिले बालअधिकार मात्र होइन, स्थानीय शिक्षा व्यवस्थापनलाई समेत गम्भीर रूपमा कमजोर बनाइरहेको टिप्पणी गर्नुभयो ।

नरैनापुरलाई शान्त, श्रमशील र सद्भावपूर्ण समुदायको पहिचान रहेको उल्लेख गर्दै अध्यक्ष शाहले केही व्यक्तिहरू व्यक्तिगत स्वार्थ तथा बाह्य प्रभावमा परेर सेवा प्रवाह नै अवरुद्ध पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । यस्तो कार्यले पालिकाको छवि मात्र होइन, भविष्यका पुस्ताको अधिकारमा समेत प्रत्यक्ष असर पर्ने उहाँको भनाइ छ ।

बन्द–हडतालका कारण दैनिक ज्यालादारी मजदुर, विद्यार्थी, महिला, वृद्धवृद्धा र सर्वसाधारणको जनजीवन प्रभावित हुने उल्लेख गर्दै अध्यक्ष शाहले यस्ता गैरजिम्मेवार गतिविधि तत्काल रोक्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

हाल शिक्षक सरुवालाई केन्द्रबिन्दु बनाएर केही समूहले जनताबीच भ्रम फैलाउने काम गरिरहेको गाउँपालिकाले आरोप लगाएको छ । अध्यक्ष शाहका अनुसार पालिकामा केही शिक्षकहरू मनपरी रूपमा कार्य सञ्चालन गर्ने गरेको गुनासो स्थानीयले बारम्बार राखेपछि शिक्षा नियमावलीअनुसार नियमित सरुवा गरिएको थियो ।

उक्त सरुवा बदरको माग गर्दै केही शिक्षक अदालत पुगे पनि अदालतले सरुवा भएको स्थानमै हाजिर भएर काम गर्न आदेश दिएको गाउँपालिकाको दाबी छ । तर अदालतको आदेशलाई बेवास्ता गर्दै स्थानीय विनय दिक्षितको नेतृत्वमा नरैनापुर–५ र ६ वडा अन्तरगतको हुलाकी सडकमा अवरोध पु¥याउने गतिविधि भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिकाले यस्तो कार्य जनताप्रति दुख दिने, अवैध र निन्दनीय भएको जनाएको छ ।

नरैनापुर गाउँपालिकाले शिक्षा र सार्वजनिक सेवा जस्ता संवेदनशील क्षेत्रमा अराजकता र भ्रम फैलाउने गतिविधि सह्य नहुने चेतावनी दिँदै, कानुनी प्रक्रियाअनुसार जिम्मेवार रूपमा संवाद र समाधानतर्फ आउन सबै सम्बद्ध पक्षलाई अनुरोध गरेको छ । गाउँपालिकाको शिक्षा समिति पूर्ण रूपमा कानुनी र प्रक्रियागत रूपमा सञ्चालन हुँदै आएको छ विज्ञप्तिमा भनिएको छ ।

त्यसैले गलत सूचना तथा अफवाहमार्फत जनतालाई भड्काउन खोजिएकाले यस्ता गतिविधिबाट टाढा रहन नागरिकलाई अपिल गरिएको छ । उहाँले भन्नुभयो, “विद्यार्थीहरू कुनै राजनीतिक वा निजी स्वार्थका साधन होइनन्, उनीहरू देशको भविष्य हुन् । विद्यालयबाट निकालेर आन्दोलनमा प्रयोग गर्नु कानून र समाज दुवैले अस्वीकार गर्छ ।”

बालअधिकार ऐन तथा शिक्षा ऐनले बालबालिकालाई कुनै पनि प्रकारको राजनीतिक क्रियाकलाप वा दबाबमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको भन्दै उहाँले अभिभावक, शिक्षक तथा समाजका सबै पक्षलाई यस्तो हानिकारक गतिविधिबाट सचेत रहन आग्रह गर्नु भएको छ ।

आन्दोलनको क्रममा विनय दीक्षित नामक व्यक्ति सँग फोनमा भएको वार्तालाई तोडमोड गरी गलत अर्थ लगाई आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको दाबी अध्यक्ष शाहले विज्ञप्ति मार्फत गर्नु भएको छ । उक्त कार्यको उहाँले कडा शब्दमा निन्दा गर्दै सत्य–तथ्यबाट विपरीत जानकारी नफैलाउन चेतावनी दिनु भएको छ ।अध्यक्ष शाहले नरैनापुरका सबै नागरिकलाई शान्ति, शिक्षा, विकास र सद्भावको पक्षमा एकजुट हुन आग्रह गर्नु भएको छ ।

उहाँले कुनै पनि समस्या शान्तिपूर्ण संवाद, तथ्य र कानुनी मार्गबाट समाधान गर्न गाउँपालिका तयार रहेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । अध्यक्ष शाहले भन्नु भएको छ,“नरैनापुरलाई विकास, सुशासन र स्थायित्वतर्फ अगाडि बढाउने हाम्रो यात्रालाई व्यक्तिगत स्वार्थका कारण अवरुद्ध हुन दिइने छैन ।,

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्