जेन–जी आन्दोलन लोकतन्त्रविरोधी तत्वहरुले हाइज्याक गरे : पूर्व गृहमन्त्री रमेश लेखक

Sagarmatha Post
Sagarmatha Post १४ पुष २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं, नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन लोकतन्त्रविरोधी तत्वहरुले हाइज्याक गरेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानविन गर्नका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगलाई बयान दिँदै उनले प्रदर्शनमा व्यापक घुसपैठ भएको बताएका छन् ।‘विहान माइतीघर मण्डलाबाट प्रदर्शन सुरु भयो । कयौं विद्यार्थी विद्यालय पोषाकमा नै थिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारीअनुसार शान्तिपूर्ण आन्दोलन हुन्छ भन्ने विश्वास आयोजकले दिलाएका थिए । तर, प्रदर्शनमा व्यापक घुसपैठ भयो । जेन–जीको प्रर्दशनलाई लोकतन्त्रविरोधी तत्वहरुले हाइज्याक गरे,’– उनले बयानका क्रममा भनेका छन् ।

संसद् भवन, नयाँ बानेश्वर परिसरमा व्यापक हिंसात्मक घटना भएपछि जेन–जी अगुवाहरुले सामाजिक सञ्जालमार्फत ‘हाम्रो आन्दोलन सफल भएको छ । यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदै छ । साथीहरु आफ्नो घर फर्किनुस्’ भनेको पनि पूर्व गृहमन्त्री लेखकले आयोगलाई स्मरण गराएका छन् ।धमिलो पानीमा माछा मार्न चाहने तत्वले जेन–जीको भावनामाथि खेलेर सुनियोजित रुपमा प्रदर्शनलाई हिंसात्मक बनाएको पूर्व गृहमन्त्री लेखकले बयानका क्रममा उल्लेख गरेका छन् । पूर्व गृहमन्त्री लेखकले राजनीतिक नैतिकता सबैभन्दा मूल्यवान विषय रहेको स्मरण गराउँदै आफूले सो क्रममा नैतिकताको आधारमा राजीनामा दिएको पनि बताएका छन् ।

उनले प्रर्दशनमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रचलन नरहेको पनि बताएका छन् । पूर्व गृहमन्त्री लेखकले गृहमन्त्रीलाई कुनै पनि कानूनमा बल प्रयोग गर्ने सम्बन्धमा निर्देशन दिने अधिकार नदिएको पनि बताएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्