काठमाडौँ । गुरुङ समुदायको महान् चाड तथा नयाँ वर्ष ‘तमु ल्होसार’ आज देशभर विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। पर्वको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भन्ने हुन्छ । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ले नेपालीबिच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभएको छ ।मङ्गलबार तमु ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालको ऐतिहासिक, साँस्कृतिक र सामाजिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै सामाजिक एकता, मेलमिलाप तथा पर्यटन प्रवर्द्धन गर्न यस पर्वले थप टेवा पुर्याउने अपेक्षा गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘ गुरुङ समुदायको प्राचीन पात्रो प्रणाली र जीवन शैलीसँग सम्बन्धित यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’’यसैगरी, राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरूभएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन छ । गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्