काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि खटिने कर्मचारीहरूको राष्ट्रिय बीमा कम्पनीमार्फत प्रतिव्यक्ति २० लाख रुपैयाँको दुर्घटना बीमा गराएको छ। आयोगका अनुसार पुस १३ गते २ लाख १३ हजार १ सय ६१ जना कर्मचारीको १५ दिनदेखि ९० दिनसम्म लागू हुने गरी बीमा गरिएको हो। सोबारे आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक रूपमा जानकारी गराएको छ।
आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री व्यवस्थापनको कामसमेत तीव्र रूपमा अघि बढिरहेको जनाएको छ। सामग्री खरिद सरकारी निकायबाटै ‘जिटुजी’ (सरकार–सरकार) प्रणालीमार्फत गर्ने तयारी गरिएको आयोगले स्पष्ट पारेको छ।जिल्ला तहमा आवश्यक सामग्री खरिद गर्दा सम्भव भएसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका देशभर रहेका कार्यालयमार्फत आपूर्ति गर्ने गरी जिल्ला कार्यालयहरूले प्रक्रिया अघि बढाइरहेका छन्। हालसम्म ३३ वटा जिल्ला कार्यालयले यस्तो सम्झौता गरिसकेको जानकारी आयोगले प्रधानमन्त्रीलाई ब्रिफिङका क्रममा दिएको छ।
यसैबीच निर्वाचन आयोगले ट्रेड युनियनमा आबद्ध सरकारी कर्मचारी तथा शिक्षकहरूलाई निर्वाचन कार्यमा नखटाउने नीति लिएको जनाएको छ। निर्वाचनमा खटिने कर्मचारीहरूको समग्र व्यवस्थापन भने प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले गर्ने व्यवस्था गरिएको आयोगले जानकारी दिएको छ


प्रतिक्रिया दिनुहोस्