राष्ट्रपति रनिङ शिल्ड विजेता कुम्भेश्वर माविका खेलाडी सम्मानित

Sagarmatha Post
Sagarmatha Post २९ पुष २०८२, मंगलवार
2 Min Read
Aa

नुवाकोट । शिवपुरी गाउँपालिकामा सञ्चालित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगितामा प्रथम भई शिल्ड तथा ट्रफी हात पार्न सफल कुम्भेश्वर माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूलाई विद्यालय व्यवस्थापन समितिले नगद तथा स्टेशनरी सामग्रीसहित सम्मान गरेको छ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरोज तामाङको अध्यक्षता तथा शिवपुरी गाउँपालिका–७ का वडा अध्यक्ष वीरबहादुर तामाङको प्रमुख आतिथ्यतामा मङ्गलबार आयोजित सम्मान कार्यक्रममा पदक विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको हो।


कार्यक्रममा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ हजार ५ सय रुपैयाँ, रजत पदक विजेतालाई १ हजार २ सय रुपैयाँ र काँस्य पदक विजेतालाई १ हजार रुपैयाँ नगद तथा अन्य सहभागी खेलाडीहरूलाई हरूलाई स्टेशनरी सामग्रीले
सम्मान गरिएको थियो । साथै, खेलाडीहरूको सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउने शिक्षकहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो।


यस्तै, नवगठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई विद्यालयको तर्फबाट अविर र खादा लगाएर सम्मान गरिएको थियो। विद्यालयका शिक्षक अर्जुनकुमार तामाङले समेत पदक विजेता खेलाडीहरूलाई जनही ५ सय रुपैयाँ प्रदान गर्दै प्रोत्साहन गर्नुभएको थियो।


पाँचौँ राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता शिवपुरी रङ्गशालामा पुस २२ गतेदेखि सुरु भई पुस २४ गते सम्पन्न भएको थियो। प्रतियोगितामा कुम्भेश्वर माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै समग्र उपाधि हात पारेको हो।
सम्मान कार्यक्रममा वक्ताहरूले विद्यालयले खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा विद्यार्थीहरूलाई खेलकुदमा अझ सक्रिय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्