नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ।केहीबेरअघि सुरु भएको उक्त भेलामा गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ। भेलाको मुख्य उद्देश्य कोइराला पक्षको आगामी रणनीति तय गर्नु रहेको जनाइएको छ।
देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा कोइराला पक्ष सहभागी नहुने निर्णय गरेपछि अब गगन थापा नेतृत्वको पक्षसँग सहकार्य गर्दै निर्वाचनमा जाने संकेत कोइराला पक्षले दिएको छ।कोइराला पक्षका अधिकांश नेताहरू नेपाली कांग्रेसको झण्डा र चुनाव चिन्ह ‘रुख’ भएकै स्थानबाट निर्वाचनमा जानुपर्ने पक्षमा रहेका छन्। यसैक्रममा जिल्ला तथा केन्द्रीय तहका धेरै नेता गगन थापा पक्षतर्फ खुलिसकेको बताइएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले कोइराला पक्षले आजै आवश्यक निर्णय गरेर अगाडि बढ्ने तयारी गरेको छ।यसैबीच शेरबहादुर देउवा पक्षले आजै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ, जसको पेसी मंगलबारका लागि तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्