काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मेयर पदबाट राजीनामा दिएका छन्। उनले उपप्रमुखलाई राजीनामा बुझाएका छन्।२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि शाहले मेयर पदबाट राजीनामा दिएको बताइएको छ। उनी झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
राजीनामा दिने प्रक्रिया निर्धारित तालिका रहेपनि केहीबेर अलमल भएको थियो। तर बाँकी चुनावी तयारीमा आफूलाई केन्द्रित गर्न उनले आजै राजीनामा दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।मेयर शाहका सचिवालयका एक सदस्यले भने, “उहाँले राजीनामा दिइसक्नु भएको छ। विहानसम्म त आज नदिने कि भन्ने थियो, तर चुनावमा केन्द्रित हुनको लागि आजै दिँदा सजिलो हुने भएकोले आज नै राजीनामा दिनुभयो। रास्वपाको बैठकमा जानुअघि उहाँले राजीनामा दिनुभएको हो।”
काठमाडौं महानगरका सहप्रवक्ता धुव्र काफ्लेले पनि मेयरको सचिवालयले उपप्रमुखको कार्यकक्षामा ल्याएर राजीनामा पत्र बुझाएको पुष्टि गरेका छन्। उनले भने, “संविधानको धारा २१६ को उपधारा ८ बमोजिम उपप्रमुखलाई राजीनामा बुझाउनु भएको हो। राजीनामा उपप्रमुखज्यूकोमा दर्ता भएको छ।”



प्रतिक्रिया दिनुहोस्