सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न तथा गराउन सर्कुलर गरेको छ।निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्वाचन आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गराउन मन्त्रालयले पत्राचार गरेको हो। मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई आचारसंहिता कार्यान्वयनमा ध्यान दिन भनिएको उल्लेख छ।
सरकारले २०८२ साल पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि उक्त आचारसंहिता लागू रहने जनाएको छ। यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरिएको हो।
मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार गरी निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गराउन ध्यानाकर्षण गराएको छ। निर्वाचन आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ र दफा ५५ समावेश छन्।


प्रतिक्रिया दिनुहोस्